बाबुराम कार्की
वराहक्षेत्र, असोज २६ गते । सुनसरीको वराहक्षेत्रमा तेस्रो पानी सुल्के (स्टोनस्किपिङ च्याम्पियनसिप) हुने भएको छ । कात्तिक ३ गते अमाह सिमसारमा स्टोनस्किपिङ च्याम्पियनसिप हुने भएको हो ।
चतरा हाइकिङ समूहको आयोजना र अमाह सिमसारको सह आयोजनामा पानी सुल्के प्रतियोगिता गरिने आयोजकले आज इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्धन’ भन्ने नाराका साथ प्रतियोगिताको आयोजना हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा नगद पुरस्कारसहित प्रथम, द्वितीय र तृतीय हुने विजेताहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउने छन । विजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।
आयोजक समितिका संस्थापक नवराज विष्टका अनुसार विश्वका विभिन्न देशमा पानी सुल्के प्रतियोगिता हुँदै आएको छ । नेपालमा भने यो खेलको प्रतियोगिता हुन थालेको तेस्रो वर्ष भएको विष्टले बताउनु भयो । उहाँ भन्नु हुन्छ यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा खेलिन्छ । पानी सुल्के खेलका लागि चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर खेलिने यस खेलमा ढुङ्गा कति पटक उफ्रिन्छ त्यसैको आधारमा विजेता छनोट गरिने आयोजकले जनाएको छ ।
विश्वव्यापी रूपमा लोकप्रिय मानिँदै आएको यो खेल आयरल्यान्ड, अमेरिका, स्कटल्यान्डमा वार्षिक रूपमा आयोजना हुँदै आएको बताइएको छ ।
आयोजकले प्रतियोगिताको निर्णय क्यामेरा प्रविधिबाट गरिने जानकारी दिएको छ । सय भन्दा बढीले प्रतियोगितामा सहभागी जनाउँदै आएको र यस वर्ष पनी प्रतियोगितामा सहभागीको उल्लेखीय सहभागीता बढ्ने आयोजकले जनाएको छ ।