दोधारा चाँदनी (कञ्चनपुर), असोज २६ गते । शुक्लाफाँटा नगरपालिकामा आधुनिक एकीकृत फोहाेरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ ।
बजार तथा ग्रामीण क्षेत्रमा उत्सर्जन हुने फोहाेरमैला सङ्कलन गरेर केन्द्रमा ल्याइन्छ । केन्द्रमा रहेका सफाइकर्मीले कुहिने, नकुहिने र पुनःप्रयोग हुने फोहाेरलाई छुट्याएर राख्छन् । केन्द्रमा सङ्कलित फोहाेरलाई वर्गीकरण गरेपछि कुहिने फोेहाेरबाट कम्पोस्ट मल उत्पादन गरिन्छ भने पुनःप्रयोग गर्न सकिने फोहाेरलाई कबाडीमा बिक्री गरिन्छ । रु ३० करोड २५ लाख लगानीमा निर्माण भएको फोहाेर व्यवस्थापन केन्द्र तीन दशमलव नौ हेक्टर क्षेत्रफलमा फैलिएको छ । करिब छ मेट्रिकटन क्षमता भएको केन्द्रमा अहिले दैनिक दुईदेखि तीन मेट्रिकटन मात्रै फोहाेर सङ्कलन भइरहेको एकीकृत फोहाेर व्यवस्थापन केन्द्रका इन्जिनियर जयन्त भट्टले जानकारी दिनुभयो । “यो फोहाेरमैला व्यवस्थापन मात्रै नभएर प्रशोधन केन्द्र पनि हो, बजारबाट आउने विभिन्न फोहाेरलाई यहाँ वर्गीकरण गरिन्छ”, भट्टले भन्नुभयो, “थोरैभन्दा थोरै फोहाेर सेलमा राखेर माटोले पुरिन्छ यसले वातावरणलाई असर गर्दैन ।”
बिहान फोहाेर सङ्कलक गाडी नगरको सहरी र ग्रामीण क्षेत्रमा डुलेर फोहाेर सङ्कलन गरेर ल्याउने यहाँले बताउनुभयो । केन्द्रमा कुहिने, नकुहिने र पुनःप्रयोग हुने फोहाेरलाई छुट्याएर राखिने र कुहिने फोहाेरबाट ‘कम्पोष्ट’ मल तयार गरेर बिक्री गरिने योजना रहेको इन्जिनियर भट्टले बताउनुभयो । यसले वातावरण स्वच्छ राख्न र फोहाेरमैलाको उचित व्यवस्थापनमा मात्रै नभई स्थानीयमा रोजगारीको अवसर पनि सिर्जना गरेको छ ।
निर्माणको काम सम्पन्न भएपछि गत भदौदेखि फोहाेरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको निर्माण कम्पन्नी रमन केएस जेभीका साइट इन्चार्ज उद्धवसिंह साउदले जानकारी दिनुभयो । “हरेक दिन बिहान हामीले बजारबाट फोहाेर सङ्कलन गर्छौं, यहाँ ‘रिसाइकल’ हुन्छ”, उहाँले भन्नुभयो, “चाहिने फोहाेर छुट्याएर राख्छौँ, काम नलाग्ने फोहाेर सेलमा जम्मा गरिन्छ ।”
फोहाेरमैला व्यवस्थापन केन्द्रमा १० वटा फोहाेर सङ्कलन गर्ने साधन छन् । आठ जना सरसफाइ कर्मचारी राखिएको छ । एसियाली विकास बैँक (एडिबी) को आर्थिक सहयोगमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण भएको हो । रमन केएस जेभी धनगढीसँग २०७९ वैशाख २५ मा निर्माण सम्झौता भएको थियो । फोहाेरमैला व्यवस्थापन केन्द्रको क्षमता छ मेट्रिक टन रहेको भए पनि अहिले दैनिक क्षमताको आधा मात्रै फोहाेर सङ्कलन भइरहेको छ ।
शुक्लाफाँटामा सञ्चालनमा आएको एकीकृत फोहाेर व्यवस्थापन केन्द्र कञ्चनपुरको पहिलो हो । यस्तै, फोहाेर व्यवस्थापन केन्द्र भीमदत्तमा पनि निर्माण गर्ने तयारी भए पनि त्यसका लागि स्थान नपाउँदा परियोजना फिर्ता भएको छ । स्थानीयले फोहाेर व्यवस्थापन केन्द्र निर्माण गर्दा त्यसले वातावरण प्रदूषित हुने भन्दै विरोध गरेपछि परियोजना फिर्ता भएको होे ।
फोहाेरमैला व्यवस्थापन केन्द्रमा कुहिने फोहाेरबाट मलखाद बनाइने र नकुहिने तर पुनः प्रयोग गर्न सकिने वस्तु प्रशोधन गरिने भएकाले यो वातावरणीय प्रदूषण न्यूनीकरण गर्न र स्थानीयस्तरमा आम्दानीको स्रोतसमेत बनेको छ । रासस