गोरखापत्र अनलाइन
काठमाडौँ, असोज २६ गते । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु भक्तपुरमा सुरु भएको बैठकमा आज सचिवालका बाँकी सदस्यहरूले धारणा राख्नु हुने छ ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार आजको बैठकमा बोल्न बाँकी रहनुभएका सचिवालय सदस्यहरुले धारणा राख्नुहुने छ । यसअघि शुक्रबार बसेको बैठकमा अध्यक्षसहित ९ जना सदस्यहरूले धारणा राख्नुभएको थियो ।
आजको बैठकमा नेताहरूले धारणा राख्नेक्रम सकिएपछि बैठकले ठोस निर्णय गर्ने उपाध्यक्ष शाक्यले बताउनुभयो । उहाँका अनुसार आजको बैठकले पार्टीको महाधिवेशन र त्यसको मिति तय गर्ने विषयमा निर्णय गर्न सक्ने सम्भावना छ । जेनजी आन्दोलनपछि फेरिएको नेपाली राजनीतिक परिदृष्यका कारण दलहरूमा नयाँ नेतृत्वको बहस सुरु भएको छ ।
अध्यक्ष अोलीमाथि नेतृत्व हस्तान्तरणको चौतर्फी दवाव भएपछि महाधिवेशनको मिति तय गरेर महाधिवेशनबाटै नेतृत्व छिनोफानो गर्ने तयारीमा एमाले रहेको छ । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको थियो । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार रहेको थियो ।
सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार भदौ २७ गते गठन भएपछि सोही दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।