• २६ असोज २०८२, आइतबार

मुस्ताङ घुम्न जानेको रोजाइ हिमाली पोसाक

blog

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), असोज २६ गते । मुस्ताङ घुम्न आउनुभएकी तिलु रानाले परिवारका सदस्य हिमाली भेगको पोसाक बख्खु लगाएर तस्बिर, भिडियो खिच्ने खिचेको १५ सय रूपियाँ तिर्नुभयो । दसैँ तिहारको बिदामा परिवारसँगै मुस्ताङको भ्रमणमा निस्किनुभएका प्रेम सेञ्चुरीले १ सय ५० रूपियाँ शुल्क तिरेर याकको डमीमा चढेर तस्विर खिचाउनुभयो । 

घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने स्वदेशी पर्यटकहरूले गल्लीमा हिमाली भेगको पोशाकमा सजिएर तस्बिर, भिडियो बनाउँदै सामाजिक सञ्जाल, टिकटकमा राख्ने गर्छन् । एक पटक बख्खु लगाएको २ सय देखि ३ सय रुपियाँ भाडा तिर्नुपर्छ । समूहमा आउनेलाई स्थानीय व्यवसायीले छुट दिने गरेका छन् । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत जोमसोम, मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने पर्यटकको पहिलो रोजाइमा मार्फा गाउँ पर्ने गरेको छ ।

सडक सञ्जालको विस्तारसँगै बस्तीमा आउने पर्यटक घटेपछि चिन्तित मार्फाका व्यवसायी पछिल्लो समय बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिच्न आउने बढेपछि उत्साहित छन् । पर्यटकको सिजनमा पाँच सयभन्दा बढी पर्यटक मार्फामा रहेका पुरानो बस्तीमा पुगेर गन्तव्यतर्फ जाने गरेको स्थानीय पर्यटन व्यवसायी सुरक्षा लालचनले बताउनुभयो ।

लालचनले भन्नुभयो, ‘‘सिजनमा गल्लीगल्लीमा पर्यटक देखिन्छ, यहाँ आउने अधिकांश नेपाली पर्यटक नै हुन्छन् ।’’ मार्फामा घुम्न पर्यटकहरुले मार्फाका कोसेली घरबाट स्थानीय अर्गानिक उत्पादनसँगै स्याउ, सुकुटी, ब्रान्डी लगायतका वस्तु तथा हस्तकला सामग्री किनेर लैजाने गरेका छन्। गल्लीलाई स्थानीय नाम र नम्बरसहितको साइनबोर्ड राखेका छन् । सुनसान मार्फा चलचित्रले चिनाएको गल्ली मार्फाको बिच भागमा रहेको ‘जेरी’ गल्लीमा धेरै पर्यटक भेटिन्छन् । 

धौलागिरी बेसक्याम, झाँक्री, हाङ, जेरी, अमरसिङ, लुक्ने, बुद्ध, स्ट्रेस फ्रि ढाक्रे, कमेडियन लगायतका नामकरण गरिएका गल्लीहरूमा रहेका घरहरूमा घुम्दा प्राचीन सभ्यता झल्किने गरेको पर्यटक प्रेम नेपालीले बताउनुभयो । पर्यटक नेपाली भन्नुहुन्छ,‘‘चिटिक्क सजिएका एकै किसिमका घरहरू छन्, मुस्ताङ घुमेको सम्झनाका लागि मार्फा जानैपर्ने रहेछ ।’’मार्फा थकालीको रहनसहन, जीवनशैली, धार्मिक तथा मौलिक संस्कारको अवलोकन गर्न जान सकिन्छ । 

यस क्षेत्रमा लालचन, ज्वारचन, हिराचन र पन्नाचन थरका थकालीका साथै दलित समुदायको समेत बसोबास छ । जोमसोमदेखि माथिल्लो क्षेत्रमा जाने पर्यटकहरू करिब दुईतीन घण्टा मार्फा क्षेत्रमा रहेको गुम्बा, गुफा लगायतका अन्य पर्यटकीय स्थलमा समेत पुग्ने गरेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले बताउनुभयो । अध्यक्ष लालचनले मुस्ताङको प्रवेशद्वार घाँसादेखि कोरला नाकासम्म भ्रमणमा आउने पर्यटकलाई लोभ्याउने पर्यटकीय, धार्मिक तथा पहाडको भित्तामा प्राकृतिक कलात्मक दृश्यका साथै प्राचीनकालीन सभ्यता रहेको बताउनुभयो । 

मुस्ताङमा बर्षेनी ८ लाखभन्दा बढी स्वदेशी पर्यटक पुग्छन् । दशैंतिहारको बिदामा सबैभन्दा धेरै नेपाली मुस्ताङमा प्रवेश गर्ने गरेका छन् । न्यूनतम ३ देखि ७ दिनसम्म मुस्ताङमा बिताएर पर्यटक फर्किन्छन् । 

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँमा हिमाली भेगको पोसाक बख्खु लगाएर तस्वीर खिचाउँदै । यहाँ पोशाक भाडामा दिएर समेत स्थानीयले मनग्य कमाउँछन् ।