• २६ असोज २०८२, आइतबार

वन खाएको पुतलीले कृषिमा समेत असर पुर्‍याउने जोखिम

blog

पुतलीले पात खाएर नाङ्गै देखिएका सालका रुखहरू । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 
तुलसीपुर, असोज २६ गते ।
बबई गाउँपालिकाभित्र रहेका सामुदायिक वनमा पुतलीले ठुलो क्षति पुर्‍याएको वरपरमा लगाइएको कृषि बालीमासमेत असर पुर्‍याउने जोखिम बढेको छ । बबई गाउँपालिकाभित्र रहेका पदमपुर, चित्तलगैरा, पूर्व हापुरे, सीम गैरा, खयरभट्टी, बाघदैला, पानीसवालगायतका सामुदायिक वनमा पुतलीले करिब ११ सय  हेक्टर क्षेत्रफलमा रहेका लाथ्रा, बल्लाबल्ली, खावा, बुट्यानसमेत खाएर नष्ट गरेको छ ।

पुरन्धारा सब डिभिजन वन कार्यालय पूर्व हापुरेका प्रमुख वरिष्ठ वन अधिकृत खिमबहादुर केसीले मौसम परिवर्तन भएसँगै महुत प्रजातिको पुतलीले रुखको डाँठ, हाँगामा देखिने हरियो, चम्किलो अण्डा खसालेर नष्ट गर्ने कामको सुरुवात गर्न थालिएको बताउनुभयो ।

उहाँले जैविकरूपमा पानीको फोहोरा, चिप्लो पट्टी प्रयोग गरेर वयस्क मौथ, प्यूवा हटाइने बताउनुभयो । केसीका अनुसार रासायनिक औषधी छर्किएर समेत कीरा नियन्त्रण गरिने बताउनुभयो । केसीले समयमै नियन्त्रण गर्न नसके त्यस क्षेत्रमा हिउँदयाममा लगाइने तोरी, गहुँ, जौँ खेतीमा समेत ठुलो असर पुर्‍याउन सक्ने जोखिम रहेको बताउनुभयो । केसीले थप अध्ययनका लागि डिभिजन वन कार्यालयमार्फत् अनुसन्धान गर्ने निकायमा पठाइएको बताउनुभयो ।

केसीका अनुसार करिब चार वर्ष अघि घोराही उपमहानगरपालिकामा वडा नम्बर ११मा रहेका चार वटा सामुदायिक वनमा समेत यस्तै समस्या आएको बताउनुभयो । केसीले भन्नुभयो, ‘‘विगतमा पनि यस्तै समस्या सामुदायिक वनमा देखिएर केही नमुना परीक्षणका लागि पठाएका थियौँ, तर यस विषयमा कुनै जानकारी नआएपछि उपभोक्ताहरूले पुतलीको प्यूपा टिपेर नष्ट गर्नुभएको थियो ।’’ उहाँले बबई गाउँपालिकाभित्रका सामुदायिक वनमा देखिएको समस्या समाधानका लागि उपभोक्ता र डिभिजन वन कार्यालयको समन्वययमा समाधान गरिने बताउनुभयो ।

पदमपुर सामुदायिक वनका अध्यक्ष ज्ञान्द्रबहादुर खड्काले सामुदायिक वनमा रुखका सबै पात खाइदिएपछि ठुलाे क्षति भएको बताउनुभयो । उहाँले  पात खाइदिए पछि वन नै उजाडिएको बताउनुभयो । ‘‘पात सबै खाइदिएको छ, जम्मै रुख ठ्याङ्ग्रामा परिणत भएका छन्’’ अध्यक्ष खड्काले भन्नुभयो, ‘‘ठुला रुख सकेर अहिले भूइँमा रहेका बुट्यान, झारपात पनि सबै सखाप पारेको छ । कीराले रुखका पात खाइदिएपछि उपभोक्ताहरूलाई साल, बकाइनो, टिक, सिसोका रुख पलाउने हुन् कि होइनन् भन्ने चिन्ता थपिएको छ ।’’