नरेन्द्रसिंह कार्की
दार्चुला, असोज २६ गते । सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५, मकरीगाड अहिले व्यापारिक केन्द्र बनेको छ । करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौँ पसल, होटल र गोदामसहितको आधुनिक बजार बनेको छ ।
विसं. २०७६ मा मकरीगाड जलविद्युत् आयोजना सुरु भएपछि सडक विस्तारले यहाँको आर्थिक रूपान्तरणलाई गति दिएको छ । विसं २०६० देखि मकरीगाडमा व्यापार गर्दै आएका धनसिंह लोथ्याल सडक पुगेपछि अहिले मकरीगाडमा बजार व्यवसाय बढेको बताउनुहुन्छ । “यो क्षेत्रमा २२ वर्षदेखि होटल व्यवसाय गर्दै आएको छु, पहिले खाना खाने र बास बस्नेमात्रै व्यापार थियो”, लोथ्याल भन्नुहुन्छ, “तर अहिले सबै किसिमको व्यापार मकरीगाडमा भइरहेको छ, बिहानदेखि साँझसम्म चहलपहल बढेको छ ।”
सडक पुगेपछि जिप र मालबाहक ट्रक दैनिक रूपमा मकरीगाडसम्म पुग्न थालेका छन् । पहिला मार्मा गाउँपालिकाको लटिनाथ–सेलविसा हुँदै हुने व्यापार अहिले मकरिगाडमा केन्द्रित भएको छ । लोथ्यालका अनुसार पारिबगरदेखि मकरीगाड सडक खण्डमा खुलेका अधिकांश होटल पसल बन्द भएका छन् ।
अपिहिमालका वडा नं १ देखि ५ सम्मका स्थानीयका लागि मकरीगाड अहिले मुख्य बजार केन्द्र बनेको छ । पहिले लटिनाथबाट पिठ्युँमा सामान बोकेर आउनुपर्ने बाध्यता हटेको छ । पहिले मार्माको सेलविसासम्म मात्रै सडक थियो । स्थानीय लटिनाथबाट पिठ्युँमा समान बोकेर आउँथे । सडक पुगेपछि सामान सबै यहीँ सहज पाउन थालेको लोथ्याल बताउनुहुन्छ । उहाँका अनुसार यहाँ व्यापारिक चाप बढेको छ ।
धनगढीबाट रात्रिकालीन आउने यात्रु जिपमार्फत बिहानै मकरीगाड पुग्छन् । अहिले विटुले–पारिबगर–मकरीगाड सडकखण्डमध्ये मार्माको पारिबगरसम्म सडक ग्राभेल गरिएको छ । पारिबगर क्षेत्रसम्म बस सेवा सञ्चालनमा छ । पारिबगरदेखि मकरीगाडसम्म सडक कच्ची भए पनि सामान बोकेका ट्रक मकरीगाडसम्म नियमित सञ्चालन हुने गरेका छन् ।
मकरीगाडभन्दा माथि सडक नहुँदा पनि अहिले यस क्षेत्रमा व्यापार व्यवसाय बढेको मकरीगाडमा व्यापार व्यवसाय गर्दै आएका विसनसिंह धामी बताउनुहुन्छ । अहिले यो क्षेत्र सबै प्रकारको व्यापारका लागि केन्द्रविन्दु बनेको छ । स्थानीयले आफ्नो उत्पादन मकरीगाडसम्म बिक्री गर्न ल्याउँछन् । खण्डेश्वरी घुसाबाट स्थानीयले हरियो साँग, दुध दही मकरीकगाड बजारमा व्यापार गर्ने अवस्था बनेको छ । तराई क्षेत्रबाट खाद्यान्न लत्ताकपडा सहजै यहाँ पुग्ने गरेको छ । यहाँका होटल तथा पसल राम्रो चलेका छन् ।
“विद्युत् नबनेको भए सायदै अहिले नै सडक पुग्थ्यो”, धामीले भन्नुभयो, “यो सडक कालोपत्र भयो भने अझै यहाँको व्यापार राम्रो हुन्थ्यो ।” अहिलेको भन्दा सस्तो मूल्यमा सामान मकरीगाडमा उपलब्ध हुने छ । खाद्यान्न उत्पादन न्यून हुने अपिहिमालका चार वडाका लागि अहिले तराईबाट सहजै खाद्यान्न मकरीगाड पुग्ने गरेको छ । विकास निर्माणमा चाहिने छड, सिमेन्टदेखि दैनिक उपभोग्य सामानको सहज उपलब्धता मकरीगाडमा पुगेको व्यापारी धनसिंह जागरी बताउनुहुन्छ । अहिलेको अवस्थामा अझै सडक स्तरोन्नतिको खाँचो छ ।
व्यापारी जागरीका अनुसार खाद्यान्न, लत्ताकपडा, सिमेन्ट, छडलगायत दैनिक उपभोग्य सामग्री मकरीगाडमै सहज उपलब्ध छन् । सडक स्तरोन्नति र भाडादर समायोजनको आवश्यकता अझै रहेको उहाँले बताउनुभयो । तराईबाट आउने ट्रकहरूले अहिले अपिहिमालमा उत्पादित राज्मा, भटमास, आलु, कोदो, स्याउ र जडीबुटी धनगढीसम्म लैजान थालेका छन् । यसरी पहाड र तराईबिच दोहोरो व्यापार सहज बनेको छ ।
तराईबाट समान लिएर आउने ट्रकले सिजनमा पहाडको उत्पादन तराई पुर्याउन थालेका छन् । अपिहिमालमा उत्पादन हुने राज्मा, भटमास, कोदो, आलु, स्याउ र जडीबुटी तराई पठाउन सहज भएको जागरीले बताउनुभयो । पहाडको आलु, दाल, स्याउ धनगढीसम्म पुग्न थालेको छ । यो क्षेत्रमा सडकका कारण दोहोरो व्यापार सहज बनेको छ । सडक माथि उक्लिँदै गर्दा व्यापार पनि माथि सर्ने गर्छ । पहिले लटिनाथ सेलविसा व्यापारिक केन्द्र चहलपहल हुन्थ्यो । अहिले मकरीगाड बनेको छ । मकरीगाडबाट झण्डै एक दशमलव पाँच किलोमिटर सडक माथि उक्लिएको छ । अपिहिमालको केन्द्रसम्म सडक पुग्यो भने व्यापार फेरि माथि सर्नेछ । रासस