• २६ असोज २०८२, आइतबार

लाहाको चुराको माग बढ्दै, तर कारीगर घट्दै

blog

जनकपुरधामका मुस्लिम समुदायले घरमै लाहाको चुरा बनाउँदै । तस्बिरः लक्ष्मी चौधरी ।

लक्ष्मी चौधरी
जनकपुरधाम, असोज २६ गते ।
मिथिलाको परम्परा, सौन्दर्य र सौभाग्यसँग जोडिएको लाहाको चुराको माग बढ्दो क्रममा छ, तर यसलाई बनाउने कारीगर भने घट्दै गएका छन् ।

मिथिला क्षेत्रका महिलाहरू चाडपर्व, पूजापाठ तथा सांस्कृतिक कार्यक्रममा अनिवार्य रूपमा लगाउने लाहाको चुरा विशेषगरी सुहागन महिलाको सौभाग्यको प्रतीकका रूपमा मानिन्छ । यस्ता चुरा विगतमा मुस्लिम समुदायका घरघरमै बनाइन्थे, तर अहिले ती घरधन्दा निकै कम बचेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–८ का मोहम्मद जाकिर मियाँका परिवार पुस्तौंदेखि लाहाको चुरा बनाउने काम गर्दै आएको थियो । तर अहिले त्यो परम्परागत पेशा लगभग लोपोन्मुख अवस्थामा पुगेको छ । मियाँ भन्नुहुँछ, “पहिला मेरो बाबु, हजुरबुवा र घरका सबैले लाहाका चुरा बनाउने गर्थे, तर अहिले सबैले छोडेका छन् । अहिले मेरी श्रीमती मात्र बनाउँछिन्, म भने रिक्सा चलाउँछु ।”

जाकिरका अनुसार पहिले यो काममा पुरुष र महिलाले सँगसँगै हातेमालो गर्थे, तर अहिले पुरुषहरू अन्य पेशामा लागेको कारण थोरबहुत महिलाहरू मात्र यो काममा टिकेका छन् । “लाहाको चुरा बनाउन कोइलाको रापमा बस्नुपर्छ, गर्मी र धुलोको कारण धेरैले यो पेशा छोडेका छन्,” मियाँ बताउनुहुन्छ ।

हाल उहाँका घरमा बनेका चुरा स्थानीय एउटा पसललाई मात्र ठेक्कामा पुग्ने गरेका छन् । माग बढ्दो भए पनि नयाँ पुस्ता यो पेशातर्फ आकर्षित नभएकाले परम्परागत सीप हराउने जोखिम बढेको देखिन्छ ।

जनकपुरधामकी मोकीमा खातुनले भने १४ वर्षदेखि लाहाको चुरा बनाउँदै आउनुभएको छ । उहाँले बनाएका चुरा स्थानीय बजारमै बेचिन्छन् । “महिनामा १५ देखि २० हजार रुपियाँ कमाइ हुन्छ,” खातुनले भन्नुभयो । उहाँको टोलमा अहिले उहाँ मात्र चुरा बनाउनुहुन्छ । “पहिले अधिकांश घरमा चुरा बनाइन्थ्यो, तर अहिले मेहनत बढी र आम्दानी थोरै भएकाले सबैले छोड्दै गएका छन्,” उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार घरमै बसेर काम गरेर आम्दानी गर्न सकिने र परम्परा नटुटोस् भन्ने सोचका साथ चुरा बनाउने काम निरन्तर राख्नुभएको हो ।

कारीगर घट्दै गएपछि अहिले स्थानीय बजारमा लाहाका चुराको आपूर्ति कम भएको छ । जनकपुरधामका लाहा चुरा व्यापारी नुतन कर्णले पहिले स्थानीयस्तरमै कारिगरबाट चुरा किन्ने गरेको बताउनुभयो । “अहिले यहाँ उत्पादन थोरै र महँगो भएकाले हामी भारतबाट चुरा ल्याउँछौं,” कर्णले भन्नुभयो ।

यस्तै, अर्का व्यापारी दीपक दासले पनि स्थानीय उत्पादनले मात्र नभ्याउने हुँदा भारतीय बजारबाट लाहाका चुरा ल्याएर बेच्ने गरेको बताउनुभयो ।

माग बढ्दो भए पनि नयाँ पुस्ता यो सीपमा आकर्षित नभएकाले परम्परागत कला हराउने खतरा बढ्दै गएको स्थानीय व्यापारी र कारीगर दुवैको भनाइ छ । मिथिला क्षेत्रका महिलाहरूले जतिसुकै महँगो तथा आकर्षक चुराहरू बजारमा आए पनि मिथिला संस्कृतिमा लाहाको चुरा अनिवार्य रूपमा आवश्यक ठानिन्छ ।