• २६ असोज २०८२, आइतबार

गुल्मीमा फल्चा निर्माणलाई तीव्रता

blog

गुल्मी तम्घासमा भगवती मन्दिरमा निर्माण गरिएको फल्चा । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), असोज २६ गते । गुल्मीमा पछिल्लो समय कलात्मक फल्चा निर्माणको आकर्षण बढ्दै गएको छ । यात्रु र पैदलयात्रीसहित मान्छेको भीड हुने ठाउँमा फल्चा निर्माण भएकाले ओत, विश्राम र कतिपय सडकमा बस्नेहरुकाे निद्रा पुर्‍याउने महत्वपूर्ण ठाउँ फल्चा बनिरहेको छ । 

सदरमुकाम तम्घासमा दुई स्थानमा आकर्षक फल्चा निर्माण गरिएको छ । रेसुङ्गा नगरपालिकाले तम्घासको बसपार्क नजिक र भगवती मन्दिरमा फल्चा निर्माण गरेको हो । जिल्लाका लागि फल्चा नयाँ संरचना हो । काठमाडाैंसहितका प्रमुख सहरहरुमा अहिले धमाधम फल्चा निर्माण भइरहेका छन् ।

पहाडी जिल्लाहरुमा पनि पुराना संरचना पौवाहरु थिए । तर अहिले नयाँ ढङ्गले प्रतीक्षालयका रुपमा फल्चाहरु निर्माण हुँदै आएको छ । गुल्मी तम्घासमा भने कारागारका कैदीबन्दीको काष्ठकला प्रयोग गरेर निर्माण गरिएको छ । बसपार्क नजिक इन्द्रवीर थापाले निर्माण गरेको डेढ सय वर्ष पुरानो इन्द्र पौवा थियो । यो पौवा जीर्ण भएपछि सोही ठाउँमा अहिले फल्चा निर्माण गरिएको छ ।

यो पौवाको गरिमाको विषयमा केही आलोचना भए पनि आधुनिकताका नाममा पुराना कला र संस्कृतिहरु लोप हुँदै गएपछि पौवाको ठाउँमा फल्चा निर्माण गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले  बताउनुभयो । कैदीबन्दीहरुको सीपको प्रर्दशन र स्थानीय सामग्रीको उपयोगबाट पुरानै काष्ठकला मार्फत फल्चा निर्माण गरिएको पन्थीले बताउनुभयो । उहाँले गत वर्ष एउटा निर्माण गरिएको र अहिले भगवती मन्दिरसहित दुईवटा फल्चा निर्माण हुने बताउनुभयो ।

गत वर्ष निर्माण भएको ट्राफिक कार्यालय अगाडिको फल्चाका कारण पैदलयात्री तथा ट्राफिक कार्यालयमा आएका सेवाग्राहीलाई राम्रो विश्राम स्थल बनेको छ । काष्ठकलामा निकै अब्बल कैदीबन्दीहरुका सामग्री पछिल्लो समय सरकारी तथा गैरसरकारी थुप्रै संरचनामा प्रयोग हुँदै आएका छन् । नगरले काफलपानी निर्माण सेवामार्फत कैदीबन्दीहरुले निर्माण गरेका काष्ठ सामग्रीहरु फल्चामा प्रयोग गरेको हो । दुई वटा फल्चा १०-१० लाखको लागतमा निर्माण भएको नगरपालिकाले जनाएको छ ।

गुल्मी कारागारका चौकीदार हरि थापाले आफूहरुले बाहिर निर्माण गर्दा लाग्ने लागतको ५० प्रतिशत कममा फल्चासहितका पूर्वाधारमा काम गरेको बताउनुभयो । पछिल्लो समय कारागारमा काष्ठकला र फर्निचरको काममा हुँदै आएको छ । वार्षिक साढे तीन करोडभन्दा बढिको कारोबार हुने कारागारबाट कैदिबन्दीले न्यूनतम सात हजारदेखि ४५ हजारसम्म कमाउँने गरेको थापाले बताउनुभयो । उहाँले विद्यालय, मन्दिर, गाउँपालिका भवन, सभाहल लगायतका ठाउँहरुमा कारागारको सीप प्रयोग भएको बताउनुभयो । उहाँले भन्नुभयो,“फल्चामा पनि उत्कृष्ट मिहिनेत गरेका छौं । सस्तो र गुणस्तरीय भएकाले फल्चाबाहेक थुप्रै सरकारी संरचनामा कैदीबन्दीको सीप पुगेको छ ।”

कारागारमा सबैभन्दा बढी मूल्य पर्ने अष्टनागको आकृतिसहित सालको काठको चौकोस निर्माण हुन्छ । जसको मूल्य आठ लाख छ । एउटा चौकोस निर्माण गर्न तीन जना जनशक्तिले एक महिनासम्म काम गर्नुपर्छ । त्यस्तै भक्तपुरे आँखीझ्याल, फोटो फ्रेम, दराज टेबलसहितका आवश्यक सबै फर्निचर सामग्री निर्माण गर्ने गरिएको छ ।

त्यस्तै नेपालको प्रसिद्ध धाम रुरुक्षेत्रमा भरतपुर महानगरपालिका र रुरुक्षेत्र गाउँपालिकाको साझेदारीमा आकर्षक फल्चा निर्माण गरिएको छ । रुरुक्षेत्र गाउँपालिका–१, रिडीमा फल्चा निर्माण गरिएको हो । नीलकण्ठ कन्स्ट्रक्सनले ३२ लाख २६ हजार ८९१ रुपियाँको लागतमा फल्चा निर्माणको सम्झौता गरेर फल्चा निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

रुरुक्षेत्र गाउँपालिका र भरतपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध गाँसिएको छ । सोही सम्बन्धको कारण रुरुक्षेत्र गाउँपालिका र भरतपुर महानगरपालिकाबिच ५०-५० प्रतिशत रकम साझेदारीमा रिडीमा फल्चा, विष्णु मूर्तिसहितका पर्यटकीय संरचना निर्माण गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो । रिडी बजार र कालीगण्डकी तटीय क्षेत्रलाई केन्द्रमा राखेर संरचना निर्माण तथा पुराना संरचना संरक्षण एवं लामाचौपारीमा ठुलो मन्दिर निर्माण कार्य अगाडि बढाइएको ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले रुरुक्षेत्र धाम आफैँमा प्रसिद्ध भए पनि आवश्यक पर्यटकीय संरचनाहरू निर्माणको काममा आफूहरूले चासो दिएको बताउनुभयो ।