• २६ असोज २०८२, आइतबार

जुम्लामा मार्सी धान काट्न सुरु

blog

मार्सी धान काटेर खेतमा सुकाइएको फाँट । तस्बिर : नौरते नेपाली

नौरते नेपाली

सिँजा (जुम्ला), असोज २६ गते । जुम्लामा किसानहरूले ‘मार्सी धान’ काट्न सुरू गरेका छन् । दसैँ सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो सुरु भएको हो । 

जुम्लाका किसान मार्सी धान, सिमी भित्र्याउने काममा व्यस्त भएका छन् । पाकिसकेको धान समयमा नकाटेपछि झर्ने र गाईवस्तुले खाने डरले किसान अहिले खेतबारीमा भेटिन थालेका छन् । खलङ्गाको छिनासिम, देपालगाउँ, विमानस्थल क्षेत्र, सिँजा क्षेत्रका ज्युलोमा धान काट्ने काम सुरु भएको छ । 

यता चन्दननाथ नगरपालिका–४ सिंगाचौरका किसान श्री बहादुर सार्कीले काट्न सुरु गरिएको जानकारी दिनुभयो । कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीले जिल्लाका अधिकांश स्थानमा मार्सी धान काट्न सुरु गरिएको जानकारी दिनुभयो । स्थानीय तहमा मार्सी धान के कस्तो अवस्थामा छ र उत्पादनको अवस्था नमुना लिनलाई प्राविधिक टोली खटिएको पनि उहाँले जानकारी दिनुभयो ।  

कृषि विकास कार्यालयका अनुसार  आव २०८०-८१ मा जुम्ली मार्सी धान तीन हजार तीन हजार मेट्रिक टन उत्पादन भएको थियो । उहाँका अनुसार जसमध्ये दुई सय मेट्रिक टन जिल्लाबाहिर निर्यात भएको थियो । जुम्लाको तातोपानी, गुठिचौर, पातारासी, चन्दननाथ, सिँजा र हाँकु क्षेत्रका किसानहरू अहिले खेतमै रमाइरहेका छन् । 

करिब दुई हजार पाँच सयदेखि तीन हजार मिटर उचाइमा खेती हुने मार्सी धान जुम्लाको पहिचान मात्रै होइन गौरव पनि बनेको छ । मार्सी धान नेपालकै सबैभन्दा उच्च स्थानमा फल्ने प्रजाति हो । 

यसको विशेषता भनेको चिसो मौसम र पहाडी भूगोलमा पनि राम्रोसँग फल्ने क्षमतामा छ । यस धानको दाना सानो, रातो रङको हुन्छ र स्वादमा मीठो हुन्छ । स्थानीय किसानहरूका अनुसार यो वर्ष समयमै वर्षा भएकाले उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ । तातोपानी गाउँपालिकाका किसान हर्क बुढाका अनुसार, गत वर्षभन्दा यसपटक धानको बाली राम्रो छ । मौसम साथ दिएपछि अन्न राम्रोसँग पाकेको छ ।