जयकृष्ण यादव
इनरुवा,असोज २६ गते । सुनसरीको कोशी गाउँपालिका– १ लौकही सीमा नाकाबाट सशस्त्र प्रहरीले तीन लाख रुपियाँ बराबरको पटका नष्ट गरेको छ । आइतबार बिहान करिब ९ बजे सीमा नाका हुँदै लुकाएर ल्याएको अवस्थामा सशस्त्र प्रहरी लौकहीले पटका बरामद गरिएको हो ।
बरामद भएको पटकालाई स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र प्रहरी प्रशासनको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीका प्रमुख प्रहरी निरीक्षक मनीष कटुवालले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले विशेष सूचनाको आधारमा पटका फेला पारेको थियो ।
विभिन्न १७ प्रकारका पटकाको अनुमानित मूल्य तीन लाखभन्दा बढी रहेको सशस्त्र उपरिक्षक केदारजङ्ग थापाले जानकारी दिनुभएको छ । तिहार नजिकिँदै गर्दा स्थानीय व्यापारीले भारतको नाका हुँदै नेपाल ल्याएर लुकिछिपी पटका बिक्री गर्ने गर्दछन् ।