• २६ असोज २०८२, आइतबार

चिदीचौर खेलमैदानमा खाल्टा र निर्माण सामग्रीः सरोकारवाला निकाय मौन

blog

चिदीचौर खेलमैदानमा खाल्टा र निर्माण सामग्री । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास(गुल्मी), असोज २६ गते ।
गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदीचौर खेल मैदानमा खाल्टा पारेर छाडेको लामो समय हुँदा पनि सरोकारवाला निकाय मौन छन् ।  चिदीचौरलाई थप व्यवस्थित गर्नका लागि बनाइएको योजनामा खाल्टा बनाएर छाड्ने र निर्माणका सामग्री यसै छाड्दा पनि यहाँका सरोकारवाला निकाय मौन रहेको पाइएको हो ।  

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले उक्त स्थानमा के हुँदैछ भनेर आम नागरिकलाई जानकारी दिनका लागि सूचना पाटी पनि नराखिनु र दुर्घटना निम्त्याउने गरी खाडल खनेर छाड्नु दुःखद पक्ष भएको टिप्पणी गर्नुभयो । समयमै काम नगर्नु र सरोकारवालाहरुको उदासीनताले थप दुर्घटना निम्त्याउन सक्ने भएकाले समयमै व्यवस्थापन गर्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

रेसुङ्गा नगरपालिकाका योजना अधिकृत विनोद मरासिनीका अनुसार यस चौरको एक भागमा पानी उम्रिने भएकाले यसलाई अन्डरग्राउण्ड गरी व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको बताउनुभयो । जमिनमुनिबाट पाइप लगाएर व्यवस्थापन गर्ने र बाहिरबाट मलिलो माटो ल्याई दुवो लगाउने कार्य हुने भएकाले नगरपालिकाको समन्वय मात्रै रहने उहाँको भनाइ छ । सबै कार्य सामाजिक विकास डिभिजन कार्यालय पाल्पाबाट हुने भएकाले आफूहरुले सहजीकरण मात्रै गर्दै आएको उहाँले बताउनुभयो ।

सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका अनुसार बहुवर्षे ठेक्काअन्तर्गत एक करोडको लगानीमा रामेछाप कन्ट्रक्सन काठमाडौँले काम गरिरहेको छ ।

यता निर्माण व्यवसायी लीलाबहादुर बस्नेतले तिहार लगत्तै कामले गति लिने बताउनुभयो । काम सुरु भएको एक महिनाभित्रैमा काम सम्पन्न्न गरी हस्तान्तरण गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो । वर्षाका कारण कामले गति लिन नसकेको उहाँको भनाइ छ । खाल्टा पारेर छाड्दा दुर्घटनाको जोखिम बढाउनु भो नि भन्ने गोरखापत्रको जिज्ञासामा उहाँले आफूहरुको नियत त्यस्तो नभएको बताउँदै सकारात्मक रुपमा लिन उहाँले आग्रह गर्नुभयो । २०८२ वैशाख अन्तिम हप्ता सामाजिक विकास डिभिजन कार्यालय पाल्पा र निर्माण व्यवसायीबिचको सम्झौता अनुसार २०८३ जेठ मसान्तसम्म कार्य सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।