• २६ असोज २०८२, आइतबार

देसीखोला जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

blog

घाइतेको उद्धार गरिँदै । तस्बिर : राजन रावत

राजन रावत 
हुम्ला, असोज २७ गते ।
चङ्खेली गाउँपालिका– ४ को देसीखोलामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा घाइते दुई वर्षीया बालिकाको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो ।

मृत्यु हुनेमा समकोट गाउँपालिका– ८ को स्याँडा गाउँकी दुई वर्षीया बालिका जागृति रोकाया रहेको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । यसअघि शुक्रबार उक्त दुर्घटनामा परि तीन जनाको मृत्यु भइरहेको छ ।

मृत्यु हुनेमा चङ्खेली गाउँपालिका–६ का वर्ष वर्षीया मनवीर बुढा, उहाँको दुई वर्षीय छोरा देवाङ्स बुढा, सिमकोट गाउँपालिका–८ की २६ वर्षीया वसन्ती रोकाया छन् । 

यसैगरी, दुर्घटनामा परी घाइते भएका तीन जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । त्यस्तै, एक जना घाइतेलाई वीरेन्द्रनगर अस्पतालमा रिफर गरिएको छ ।

तीन जना प्रदेश अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जना स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि घर फिर्ता भएको प्र.ना.उ. पोखरेलले बताउनुभयो ।

शुक्रबार बिहान ११ बजे चङ्खेली गाउँपालिका– ४ को देसीखोला गोठ्यानामा कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर जिप दुर्घटना भएको थियो । जिप दुर्घटनामा परी सात जना गम्भीर घाइते भएका थिए ।