हरिकृष्ण ऐडी
मुगु, असोज २६ गते । मुगुमा वर्षेनी कृषि उत्पादन घट्दो क्रममा छ । कृषि विकास कार्यालय मुगुको तीन वर्षयताको तथ्याङ्क हेर्दा जिल्लामा वर्षेनी कृषिको उत्पादन घटिरहेको देखिन्छ । कृषि विकास कार्यालय मुगुको अभिलेख अनुसार तीन वर्षयता लगातार मुगुको मुुख्य खाद्यन्नबाली घैया धान, कोदो र फापरको उत्पादन घटिरहेको छ ।
कृषि विकास कार्यालय मुगुको तीन वर्षको अभिलेखअनुसार कोदोको उत्पादकत्व प्रतिहेक्टर एक मेट्रिकटनबाट घटेर .५३ मा झरेको छ । आर्थिक वर्ष ०७९/०८० मा कोदोको उत्पादकत्व ३५७५ मेट्रिक टन थियो । यो क्षमतामा ह्रास आएर ०८०/०८१ मा ३४२० मा झरेको छ । चालु आर्थिक वर्षमा झन उत्पादनमा कमि आएको छ ।
चालु आर्थिक वर्षमा मुगुको कोदो उत्पादकत्व २२४८ मा झरेको कृषि विकास कार्यालय मुगुका सूचना अधिकारीले जानकारी दिनुभएको छ । यस्तै, अर्को मुुख्यबाली घैयाधानको उत्पादनसमेत घट्दै गएको छ । घैयाधानको उत्पादकत्वसमेत यहीँ अनुपातमा खस्किएको कार्यालयले जानकारी दिएको छ ।
उत्पादनमा ह्रास आउनुको मुख्य कारण सम्बन्धित निकायबाट कृषकलाई आधुनिक प्रविधि ज्ञानशिपको अभावले गर्दा दिनप्रतिदिन कृषि उत्पादनमा ह्रास आउदै गरेको छायानाथ रारा नगरपालिका वडा नं ८ का कृषक रामनन्द रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘कृषकले समय अनुसार सिँचाइ गर्नलाई सिचाइको सुविधा नहुँदा खडेरीका कारण तीन वर्षयता मुगुमा मुख्य कोदो, घैया धान बालीसमेत घट्दै गएको छ ।’’
हिमाली जिल्ला मुगुमा वर्षको एक पटक उत्पादन हुने मुख्य बाली कोदो, सिमी, घैयाधान, फापर खडेरी र बेमौसमी वर्षाले कुल खेती गरिएको १२ हजार तीन सय ९८ हेक्टर क्षेत्रफलमध्ये आठ हजार सात सय हेक्टर क्षेत्रफलमा लगाइएको मुख्य बाली कोदो, घैयाधान, सिमी खडेरीले र बेमौसमी वर्षाले सखाप पारेको छायानाथ रारा नगरपालिकाको कृषि शाखाले जानकारी गराएको छ ।
करिब २८ करोड ३२ लाख ५० हजार मूल्य बराबरको कोदो, धान खडेरी र बेमौसमी वर्षाले सखाप पारेको कृषि प्राविधिक दिपेन्द्र चौधरीले बताउनुभयो ।
सिँचाइ अभाव, उचित मौसम तथा बिउको छनोट गर्न नसक्नु, समयमा प्राविधिक सेवा नपाउने तथा कम्पोष्ट मलको प्रयोग घट्दै जाँदा कृषि भूमिको उत्पादकत्वमा ह्रास आइरहेकोले उत्पादन घटेको हुन सक्ने कृषि प्राविधिक चौधरीले बताउनुभयो ।
मुगुमा फापर, सिमी तथा आलुको उत्पादनका हिसाबले पकेट क्षेत्र घोषणा गरिए पनि वर्षेनी खेती गर्ने क्रम र उत्पादन घटिरहेको छ । मुगुको छायानाथ रारा नगरपालिका वडा नं ६, १० १२ र १४ का बस्तीहरुमा मुुख्य सिमी, फापर र आलु खेती गरिने बस्ती हुन् । यस क्षेत्रमासमेत वर्षेनी सिमी, आलु, कोदो उत्पादन घटिरहेको तथ्याङकले देखाउछ ।
जिल्लामा खाद्यन्नको उत्पादन घटेपछि बाहिरबाट आयात हुने क्रम बढ्दै गइरहेको छ । खाद्यान्नको आयातमा ७० प्रतिशतले वृद्धि भएको उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढाले बताउनुभयो ।