अमरराज नहर्की
तनहुँ, असोज २६ गते । देवघाटधाममा विद्युतीय शवदाह गृह सञ्चालनमा आएको छ । देवघाट क्षेत्र विकास समिति, तनहुँको अगुवाइमा सञ्चालनमा ल्याइएको हो ।
तनहुँ, चितवन र नवलपरासीसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २० देखि ३० वटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याइने पानी परेको बेला समस्या नहुने र छिटो चलाउन सकिने भएकाले विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइएको समितिले जनाएको छ । समितिका अनुसार देवघाटमा दाहसंस्कार बढी हुने भएकाले दाउराबाट दाहसंस्कार गर्दा एकातिर वन फँडानी बढेको र अर्कोतिर नदीमा प्रदूषण भएकाले विद्युतीय शव गृह निर्माण गरिएको हो ।
सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई हालै हस्तान्तरण गरिएको छ । शवदाह भवन, मलामी प्रतिक्षालय, बसपार्क, टर्मिनल भवन र फुटपाथ निर्माण कार्य सम्पन्न भई भरतपुर महानगरको जिम्मा लगाइएको छ । शवदाह भवनमा पहिलो तलामा दुई शवदाह मेसिन, अफिस, प्रतीक्षालय र ‘मच्र्युरी’ कक्ष रहेका छन् । विद्युतीय शवदाह मेसिनले एक शव ९० मिनेटमा जलाउन सक्ने क्षमता राख्दछ । भवनमा शौचालय, स्नानघर र आवश्यक सुविधाहरू उपलब्ध छन् ।
आयोजनाका प्रमुख झपटबहादुर थापाका अनुसार, कुल लागत करिब ३३ करोड ८० लाख रुपियाँ लागेको यो आयोजना एक वर्षसम्म सञ्चालन र मर्मत–सम्भारमा सहयोग पाउनेछ । महानगरले आवश्यक जनशक्ति तालिमसहित सञ्चालन जिम्मेवारी सम्हाल्नेछ । कार्यक्रममा महानगर प्रमुख र उप–प्रमुखले विकास आयोजना प्रभावकारी र परिणाममुखी रहेको जनाउँदै, भविष्यमै नमूना शहरको अवधारणाअनुरूप शहरी पूर्वाधार विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।