सहदेव बस्नेत
जाजरकोट, असोज २६ गते । जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ नं. वडा कार्यालयले वनजङ्गल र खोलामा अवैध गतिविधि गर्नेहरू माथि कडाइ गर्ने निर्णय गरेको छ ।
वडा कार्यालयले जारी गरेको सूचनामा विषादी, विस्फोटक पदार्थ, करेन्ट, मसिनाजाल प्रयोग गरी माछा मार्ने कार्य पूर्ण रूपमा निषेध गरिएको जनाएको छ । साथै वनजङ्गल फडान, चोरी, सिकारी, चरा मार्न पाइने छैन भनेर स्पष्ट पारिएको छ ।
कार्यालयका अनुसार सामुदायिक, राष्ट्रिय तथा निजी वनजङ्गल, वनक्षेत्रभित्रका चराचुरुङ्गी, खोलानाला तथा अन्य जल स्रोतमा यस्ता अवैध क्रियाकलाप गर्न पाइने छैन । यस्ता कार्यले प्राकृतिक स्रोतसाधन नष्ट हुने, वातावरणीय क्षति र जनजीवनमा नकारात्मक असर पर्ने भएकाले तत्काल रोक लगाइएको जनाइएको छ ।
जारी सूचनामा भनिएको छ, “यदि कसैले विपरीत गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिनेछ ।” साथै अवैध माछा मार्ने वा जङ्गल जन्यअपराध देखेमा वडा कार्यालय, वडा प्रतिनिधि वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ ।
वडाले जानकारी दिने व्यक्तिको नाम गोप्य राखिने र सूचनादातालाई उपयुक्त पुरस्कारको व्यवस्था गरिने समेत जनाएको छ । वडा सचिव विनाराम विकले सूचनामा हस्ताक्षर गर्दै उक्त निर्णय कार्यान्वयनमा ल्याउन स्थानीय सबैलाई सहयोग गर्न आह्वान गरेका छन् ।