• २६ असोज २०८२, आइतबार

बिपी राजमार्गमा चल्न थाले सवारीसाधन

blog

बिपी राजमार्गमा भएको अवरोध हटेसँगै सञ्चालनमा आएका सवारीसाधन ।

केदार तिमिल्सिना

बनेपा, असोज २६ गते  । बाढीपहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको बिपी राजमार्गमा सवारी सञ्चालनमा आएका छन् । गत शुक्रबारदेखि बाढीपहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको राजमार्गमा अस्थायी डाइभर्सन ट्र्याक निर्माण भएसँगै शनिबार बिहानैदेखि सवारीसाधन चलाउन थालिएको हो ।

सडक डिभिजन भक्तपुरले शुव्रmबार अस्थायी सडक ट्र्याक निर्माण भएसँगै शनिबार बिहानदेखि नै सवारीसाधन सञ्चालनमा भएको जनाएको छ । सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले शनिबार बिहानैदेखि बिपी राजमार्गमा सार्वजनिक तथा निजी सवारीसाधन चल्न सुरु भएको बताउनुभयो । “अवरुद्ध भएका स्थानमा सडकको अस्थायी ट्र्याक खुलेसँगै सवारीसाधन सञ्चालनमा आएका छन्, सवारी सञ्चालन हुने क्रममा दाप्चा पुलनजिक समस्या देखिएपछि तुरुन्त मर्मत गरियो भने पहिरोसँगै आएको लेदोका कारण समस्या देखिएको चारसयबेँसी, कालढुङ्गामा सडक मर्मतको कामसमेत भएको छ,” सिडिई योगेशले भन्नुभयो । उहाँले सवारी सञ्चालन गर्ने क्रममा कहीँकतै समस्या देखिएको खण्डमा तुरुन्त सडकको सतह मर्मतलगायतको काम गरिने बताउँदै त्यसका लागि राजमार्गका विभिन्न स्थानमा उपकरण राखिएको बताउनुभयो । 

इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले राजमार्गका अवरुद्ध स्थानमा सडक ट्र्याक खुलेसँगै शनिबार बिहानैबाट राजमार्गमा सवारी चाप देखिएको बताउनुभयो । उहाँले रोसीखोलामा आएको बाढीका कारण माम्ती, नार्के, चारसयबेँसी र कालढुङ्गामा सडक धेरै कटान गरेकोले उक्त स्थानमा एकतर्फी मात्रै सवारी चल्ने अवस्था रहेको बताउनुभयो । उहाँले अस्थायी ट्र्याक निर्माण गरिएको स्थानमा सवारी सञ्चालनमा केही कठिनाइ भने रहेको जानकारी दिनुभयो । प्रहरी निरीक्षक कार्कीले शनिबार दिउँसो ३ बजेसम्म बिपी राजमार्ग भएर भित्रिने यात्रुवाहक सवारीसाधन ३५० वटा, बाहिरिनेको सङ्ख्या २५० वटा, निजी सवारी भित्रिएका १५० वटा, बाहिरिने ५० वटा र मोटरसाइकल भित्रिने २५० वटा र बाहिरिने मोटरसाइकलको सङ्ख्या एक सय रहेको बताउनुभयो । उहाँले बिपी राजमार्ग भएर साँझ ६ बजेसम्म सवारीसाधन भित्रिने र बाहिरिने जनाउनुभयो । 

बिपी राजमार्गलाई सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी तराई र पहाडी जिल्लालाई जोड्ने छोटो दुरीको सडकका रूपमा लिइएको छ । गत शुक्रबार र शनिबारको अविरल वर्षासँगै आएको बाढीपहिरोको कारण राजमार्गको दाप्चा पुलदेखि बर्खेखोलासम्मको १६ स्थानमा चार किलोमिटर अस्थायी डाइभर्सन सडकमा पूर्ण रूपमा क्षति पुगेको थियो ।