बुटवल समाचारदाता
बुटवल, असोज २६ गते । बुटवलको बेलबासदेखि बेथरी हुँदै लुम्बिनी जोड्ने २१ किलोमिटर दुरीको पर्यटन सडक निर्माणमा लापर्बाही गर्ने निर्माण कम्पनीलाई चेतावनी दिएपछि पुनः सडक निर्माणको काम सुरु भएको छ ।
नौ वर्षअघि निर्माण सुरु भएको यो सडक तीन वर्षमै सम्पन्न गर्ने योजना थियो तर निर्माण कम्पनीले आलटाल गर्दै अहिलेसम्म पूरा नगरेको हो । सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका प्रमुख लालु गिरीले निर्माणको जिम्मा पाएको बज्रगुरु कान्छाराम जेभीले पछिल्लो समय काम सम्पन्न गर्ने भन्दै आश्वासन दिएको तर काम नगरेपछि खातामा पठाएको रकमसमेत तानिएको बताउनुभयो ।
उहाँले निर्माण कम्पनीका नाममा पठाएको रकम काम नगरेपछि तानिएको बताउँदै रकम तानिएपछि अहिले निर्माण कम्पनीले फिल्डमा काम सुरु गरेको बताउनुभयो । सडक निर्माणको काम समयमै सम्पन्न नहुँदा सडक क्षेत्रका स्थानीय जनताले ठुलो सास्ती पाएका छन् । बुटवलको नहरपुर र रानीगन्ज क्षेत्रका बासिन्दा पानी पर्दा हिलो र सुक्खायाममा धुलोले सास्ती बेहोर्दै आएका छन् ।
स्थानीयले विगत दुई वर्षअघि विजय ढकालको संयोजकत्वमा सङ्घर्ष समिति बनाएर समयमै सडक निर्माण गर्न दबाब दिदैँ आएको छ । संयोजक ढकालले सडक निर्माणको काम छिटो पूरा गर्न स्थानीयले पटक पटक निर्माण कम्पनी र डिभिजन सडक कार्यालयलाई आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । बुटवल–बेलबास हुँदै लुम्बिनी जाने यो सडक दुई खण्डमा विभाजन गरेर निर्माण सुरु भएको थियो ।
पहिलो खण्डको काम सम्पन्न भए पनि दोस्रो प्याकेजमा आठ किलोमिटर सडक निर्माण गर्ने ठेक्का वज्रगुरु कान्छाराम जेभीले लिएको थियो । चार लेन सडक निर्माणका लागि दुई प्याकेजमा गरी कुल एक अर्ब ६७ करोडमा ठेक्का सम्झौता भएको थियो ।
सङ्घीय सरकारको अनुदान कार्यक्रम अन्तर्गत सडक विभागले २०७३ सालमा २१ किलोमिटर सडक विस्तारको ठेक्का लगाएको थियो । ठेक्का सम्झौता अनुसार २०७६ सालसम्म निर्माण सक्ने समयसीमा तोकिएको थियो तर अहिलेसम्म सडक निर्माणको काम पूरा हुन सकेको छैन ।