अर्जुन काफ्ले
स्याङ्जा, असोज २६ गते । गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने कालीगण्डकी नदी रामनदी (राम्दी) को पुल निर्माण सुस्त गतिमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी निर्माण थालिएको देशकै पहिलो नमुना पक्की पुल सम्झौता समय सकिँदासम्म निर्माण ७५ प्रतिशत मात्रै काम सकिएको हो । विसं २०७९ असार ३० गते हिम सगरमाथा प्रालि चितवनले पुल सेक्टर पोखरासँग २७ करोड ७१ लाख नौ हजार छ सय रुपियाँमा सम्झौता गरेको थियो । सम्झौता अनुसारको समय सकिँदा पुलको आर्क, फाउन्डेसन, पिल्लर हाल्ने काम सकिएको छ भने अहिले ह्याङ्गर बनाएर हाल्ने काम भइरहेको छ ।
निर्माण कम्पनीले हालसम्म १३ करोड १२ लाख ९२ हजार रुपियाँ नगद लगेको छ भने पाँच करोड ५४ लाख २१ हजार भुक्तानीको माग गरेको छ । नयाँ पुल भएकाले डिजाइन समयमै नबन्दा निर्माणमा एक वर्ष ढिलाइ हुँदा समयमै नसकिएको पुल सेक्टर पोखराका इन्जिनियर विनोद पौडेलले बताउनुभयो । थाइल्यान्डका डिजाइनरले डिजाइन गरेको सिएफएसटी स्टिल ट्युब आर्क ब्रिज देशकै पहिलो र स्याब सामग्री भारतमा बनाइने भएकाले ढिलाइ भएको पौडेलले बताउनुभयो । सम्झौताको समय सकिएपछि आगामी चैत ३१ सम्म निर्माण कम्पनीले पुल सेक्टर पोखरासँग म्याद थपेको छ भने म्याद थपेको समयमा निर्माण सक्ने पौडेलले बताउनुभयो ।
यहाँ आर्क थु्र, स्टिल आर्क ओपन फाउन्डेसनको पुल निर्माण गर्ने तयारी गरिएकोमा अन्तिममा सिएफएसटी स्टिल ट्युब आर्क ब्रिज बनाइएको थियो । यहाँ बनेको पुल भुटानमा एक र चाइना तथा दुबईमा प्रशस्त रहेको यस्ता पुल नेपालकै नेपालकै पहिलो भएको पौडेलले बताउनुभयो । एक स्पान मात्र रहेको रामनदी (राम्दी) को पक्की पुल १२० मिटर लम्बाइ र ११ मिटर चौडाइको रहेको छ ।
बन्दै गरेको नयाँ पुल २०२८ सालमा बनेको अहिलेको ट्रस ब्रिजभन्दा २७ मिटर बढी लम्बाइ रहेको छ । अहिले रहेको पुलसँगै जोडेर पूर्वपट्टि नयाँ पुल निर्माण गरिएको हो । नमुना पुल ४० मेट्रिक टन भार क्षमताको हो भने यसभन्दा अगाडिको ११ मेट भार क्षमताको रहेको थियो ।