शेरबहादुर सार्की
बाजुरा, असोज २६ गते । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका बिच्छ्या रुगिनका बाढीपहिरोपीडितको यस पालिको दसैँतिहार त्रिपालमै हुने भएको छ ।
दसैँ उनीहरूले त्रिपालमै मनाएका छन् भने आउँदो तिहार पनि त्रिपालमै मनाउने भएका छन् । गत साउन २८ गते बिच्छ्याखोलामा आएको बाढीले यहाँका झन्डै ४१ घरपरिवार विस्थापित भएका छन् ।
गत वर्ष यहाँका स्थानीयले आफ्नो घरमा खुसी र हर्षका साथ दसैँतिहार मनाए पनि यो वर्ष बाढीपहिरोले घर पुरिदिएपछि उनीहरूले यस पालिकाको दसैँ खुला आकाशमुनि त्रिपालमा मनाएका हुन् । बर्सौं दिन कमाइ गरेको लाखौँ कराडौँको सम्पत्ति एक दिनमै आएको बाढीपहिरोले सबै नष्ट पारिदिएपछि यसपालिकाको दसैँ त्रिपालमै भएको हिमाली गाउँपालिका–१, बिच्छ्याका सब्बले थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो बर्खामा गर्मीयाम भएका कारण केही भएन तर हिउँदमा यहाँ बस्न निकै गाह्रो हुन्छ । चिसोमा त्रिपालमा कसरी रात काट्ने चिन्ता छ ।”
यहाँको स्थानीय सरकारले खाद्यान्न लुगाफाटालगायतका राहत सामग्री सहयोग गरेको छ । त्यसै गरी प्रदेश र सङ्घीय सरकारले पनि घरबासको व्यवस्था गरिदिए चिसोको बेलामा बास बस्न सहज हुने थापाले बताउनुभयो । बाढीपहिरोले हिमाली गाउँपालिका–१, बिच्छ्यामा आठ घर बगाएको र नौ घर पूर्ण जोखिममा पारेका छन् भने यहाँको वडा नं. ५ कबाडीमा पनि १६ घर बगाएको र ३२ घरमा पूर्ण क्षति भएका छन् । यहाँका सबै २४ घर विस्थापित र ४१ घर पूर्ण रूपमा क्षति गरेको थियो ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले भन्नुभयो, “हामीले सक्दो सहयोग गरेका छौँ, अहिले उहाँहरूलाई घरबासको समस्या छ, त्यसका लागि ठुलो रकम चाहिन्छ जुन हामीसँग छैन ।”