इमान सिं राना
रामपुर (पाल्पा), असोज २६ गते । लालीगुराँस कप फुटबल प्रतियोगिताको उपाधी खस्यौली एफसी बुटवल, रुपन्देहीले जित्न सफल भएको छ । फाइनल खेलमा खस्यौली फुटबल क्लवले आयोजक एलजी एसोसिएसनलाई टाईब्रेकरमा २–१ ले हराउँदै यू–१९ सेभेन ए साइड खुला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी चुमेको हो ।
रामपुर–५ मटेरी ठूलोटार खेल मैदानमा भएको फाइनल खेलमा दुवै टिमले एक अर्कालाई दबाबमा राखेका थिए । तर निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो । उपाधी विजेता खस्यौलीले नगद दुई लाख रुपियाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने उपविजेता एलजीले एक लाख रुपियाँसहित शिल्ड, मेडल र प्रमाण–पत्रमा चित्त बुझाएको छ ।
सेमिफाइनल खेलमा पराजित देवदह ब्वाईज र वालिङ युनाइटेडले २५÷२५ हजार रुपियाँ प्राप्त गरेको थियो ।
त्यस्तै, अन्य विधागत तर्फ उत्कृष्ट डिफेन्डर एलजीका अरविन कुमार धामी, उत्कृष्ट मिडफिल्डर खस्यौलीका सरोज दर्लामी, उत्कृष्ट फरवार्ड एलजीका सन्तोष गोङबा, सर्वाधिक गोलकर्ता एलजी कै सुनिल थापा घोषित हुनु भएको छ । प्रतियोगिताको फेयर प्ले टिम देवदह ब्वाईज, रुपन्देही बन्यो । खस्यौलीका नबिन मश्राङ्गी फाइनल खेलको म्यान अफ दि म्याच र उत्कृष्ट गोलरक्षक घोषित हुनु भएको छ ।
प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने आयोजक एलजी कै सुनिल थापा घोषित हुनु भएको छ । उत्कृष्ट स्थानीय खेलाडीको उपाधी एलजी एसोसियसनका रिजु सोमैलाई प्रदान गरिएको छ । प्रतियोगिताको विजेता समूहलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पुस्कार प्रदान गर्नु भएको थियो । गत असोज १८ देखि सुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका १८ समूहले सहभागिता जनाएका थिए ।