• ३१ असोज २०८२, शुक्रबार

झुम्का र नख्खु कारागारबाट भागेका ११ जना पाँचथबाट पक्राउ

blog

राधा लुइटेल
फिदिम, असोज २६ गते ।
जेनजी समूहले भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ११ जना कैदी पाँचथरमा पक्राउ परेका छन् । कारागारमा तोडफोड र आगजनी हुन थालेपछि भागेका उनीहरुलाई जिल्लाका विभिन्न प्रहरी चौकीबाट खटेका प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

हालसम्म पक्राउ परेका हरुमा जिल्लाको कुम्मायक १ का ४५ वर्षीय पनेन्द्र तामाङ, फिदिम नगरपालिका १ का ३६ वर्षीय बिनय नेम्वाङ, तुम्वेवा ५ मौवाका ४० वर्षीय गोपाल बोहोरा, फिदिम नगरपालिका ५का ३० वर्षीय मंगल सिं तुम्बापो, हिलीहाङ गाउँपालिका ७ का २९ वर्षीय चक्र तामाङ र मिक्लाजुङ गाउँपालिका ५का ५१ वर्षीय सन्तविर लावती रहेका छन् ।

यसैगरी, फाल्गुनन्द गाउपालिका ३ का ५१ वर्षीय देश बहादुर तामाङ, फिदिम नगरपालिका १ का ४० वर्षीय राजेन्द्र परियार दर्जी, हिलीहाङ गाउँपालिका ४ का २२ वर्षीय किरण पोख्रल, फिदिम नगरपालिका १२ का ३५ वर्षीय मिलन थाम्सुहाङ र याङवरक गाउँपालिका ३ का २३ वर्षीय उदेश नुगो रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णले बताउनुभयो ।

कर्णका अनुसार पक्राउ परेका मध्ये फिदिम १ का चन्द्र भनिने विनय नेम्वाङ  काठमाडौँस्थित नख्खु कारागारबाट भागेका हुन् भने अरु १० जना सुनसरीको झुम्का कारागारबाट भागेका हुन् ।

भदौ २४ गते जेनजी समूहले गरेको आन्दोलन तीव्र बन्दै गएपछि विभिन्न कारागारका कैदीहरु फरार भएका थिए ।

तीमध्ये चार जनालाई र थप ११ जनालाइ  पाँचथर प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको डीएसपी कर्णले जानकारी दिनुभयो । पक्राउ परेका ११ जनालाई पाँचथर कारागारमा राखिएको प्रहरीले जनाएको छ ।