पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, असोज २६ गते । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको माग गर्दै सुरु भएको विशेष महाधिवेशनको हस्ताक्षर अभियानमा पश्चिम नवलपरासीमा ६७ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । जिल्लाका ६७ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको नेपाली कांग्रेस जिल्ला समितिले जनाएको छ ।
तीमध्ये ३२ जना प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा क्षेत्र नम्बर १ बाट २१ र क्षेत्र नम्बर २ बाट ११ जना रहेका छन् । केन्द्रीय सदस्य प्रतिनिधि रहने व्यवस्थाअनुसार एक जना केन्द्रीय सदस्यसहित पश्चिम नवलपरासीमा दुई निर्वाचन क्षेत्रमा २६÷२६ गरी कूल ५३ जना प्रतिनिधि रहेका थिए ।
तर एक जनाले अर्को दलबाट स्थानीय चुनाव लडेको, एक जनाले पार्टीबाट राजीनामा दिएको र तीन जना जिल्ला तथा केन्द्रीय अनुशासन समितिबाट कारबाहीमा परेकाले महाधिवेशन प्रतिनिधिको सङ्ख्या ४८ रहेको छ ।
नेपाली कांग्रेस जिल्ला समितिका अनुसार यो हस्ताक्षर अभियान कुनै गुटको नभई ‘विकसित घटनाक्रममा परिवर्तन चाहाने महाधिवेशन प्रतिनिधिहरूको’ रहेको छ । यसको मुख्य उद्देश्य पार्टीलाई समयमै नियमित महाधिवेशन गर्न दबाब दिनु र त्यो सम्भव नभए विशेष महाधिवेशन गर्नका लागि मार्ग प्रशस्त गर्नु रहेको छ ।
नेपाली कांग्रेसको विधानअनुसार, पार्टीको केन्द्रीय समिति बैठकले आवश्यक ठानेमा विशेष महाधिवेशन बोलाउन सक्नेछ । यसका अतिरिक्त, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाई लिखित माग गरेमा पनि विशेष महाधिवेशन बोलाउनुपर्ने वैधानिक प्रावधान छ, र यस्तो अवस्थामा लिखित माग भएको तीन महिनाभित्र महाधिवेशन बोलाउनु पर्ने व्यवस्था रहेको छ । जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रमलाई कारण देखाउँदै यो अभियान सुरु गरिएको हस्ताक्षर पत्रमा उल्लेख छ ।
नेपाली कांग्रेसको विधानअनुसार आगामी मंसिरभित्र नियमित महाधिवेशन गरिसक्नुपर्ने बाध्यता छ । यद्यपि, विशेष परिस्थितिका कारण देखाउँदै पार्टीले एक वर्षसम्म म्याद थप गर्न सक्ने प्रावधान पनि रहेको छ ।
मङ्सिर आउन डेढ महिना मात्र बाँकी रहेकाले एकातर्फ विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान तीव्र पारिएको छ भने अर्कोतर्फ केन्द्रीय नेतृत्वमा नियमित महाधिवेशनको तयारी र म्याद थपको विषयमा बहस सुरु भएको छ । देशभरबाट सङ्कलित हस्ताक्षर केन्द्रीय समिति बैठकमा पेश गरिने छ ।