रमेश विश्वकर्मा
गुल्मी, असोज २६ गते । गुल्मीको रेसुङ्गा नगरपालिकामा तीन वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे र ढलान गरी पक्की भएको छ । सदरमुकाम तम्घाससहित आसपासको क्षेत्र समेटिएको नगरपालिकाका १४ वटा वडामा तीन वर्षमा ६५ किलोमिटर सडक पक्की भएको हो ।
यस नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा २३ किलोमिटर सडक पक्की गरेको छ । त्यसअघि नगरभित्र आर्थिक वर्ष २०७९/०८० मा २४ किलोमिटर र आर्थिक वर्ष २०८०/०८१ मा १७ किलोमिटर सडक कालपत्रे र आरसिसी ढलान गरी पक्की सडक बनेको छ । रेसुङ्गा नगरपालिका–६ थामा, वडा नम्बर–४ अर्खलेमा स्वामीका रुख–मसिनापोखरी सडक, सेउघा–बलालकाबारी सडक, रायढुङ्गा–खाम्सेपानी सडक र डिएनडी चोक–भण्डारी टोल सडक आरससी ढलान, नाली निर्माण र कालोपत्रे गरिएको छ ।
वडा नम्बर–३ मा बेंहोरे सडक, भनभने–नुनथला–बाँझीपोखरी सडक, तम्घास भाडागाउँ बाँझाघाट आरसिसी ढलान र कालापत्रे गरिएको छ । वडा नम्बर–१३ मा दुबीचौर सडक, ढिकीडाँडा–नुनथला सडक, वडा कार्यालय जाने सडक, पधेंराखोला–कालिका मन्दिर सडक र सिराना घुम्ती–कल्लेरी–गुल्मीदरबार सडक कालोपत्रे गरिएको छ । तम्घासका सबै टोलका सडकहरु पक्की बनाइएको छ । रेसुङ्गा नगरपालिकामा तीन आर्थिक वर्षमा खाम्सेपानी–भुवनपानी–रातडाँडा सडक, तम्घास बजार क्षेत्र सडक, तम्घास–रेसुङ्गा सडक, खाम्सेपानी–नेटाखर्क सडक, आदर्शचोक–सेतोगुराँस सडक, सेउघा–सिमाघाट सडक र घुम्ती–तम्घास सडक पक्की बनाइएको छ ।
तम्घास–खाम्सेपानी सडक, तम्घास–नेटा सडक, नेटा–अडबिसे सडक, रातडाँडा–सिमलपाटा कृषि सडक, देउराली–कमेरेपानी सडक, आदर्शबोडिङ्ग–पुतलीबजार सडक, कोलिनिका–रेसुङ्गा स्कुल सडक र आदर्शचोक–सेतो गुराँस सडक पनि पक्की बनाइएको हो। त्यस्तै, एभरग्रीन–कारागार सडक, थापाटोल सडक, खाम्सेपानी–बर्दबास सडक, पोखरेलटोल–सानी पिपल सडक, रानीगाडे सडक, साउनेखोला–लामडाँडा सडक, आठबिसे–अतरकाँडा–बालकाटे सडक र लाम्पटा–डाँडाखर्क–बरारुख सडक पक्की निर्माण गरिएको छ । साथै साखिने–कुँडापानी सडक, भुजेलटोल–एभरग्रीन सडक, पाँचदोबाटो–हुँगेली टोल सडक, पाँचदोबाटो–थुम्का सडक, बजाज सोरुम–जिल्ला प्रहरी–शिवालय टोल सडक र पाण्डेटोल–मरासिनी टोल सडक पनि पक्की बनाइएको हो ।
बगालेखोला सडक, चारीखोला सडक, विद्युत् रिङरोड सडक, फेरा–भुल्के सडक, धरमपानी–तानाम्ग सडक, आमडाँडा सडक, आमडाँडा–थापाटोल सडक, दह–रैया सडक, उर्लेनी सडक, ह्वाक्ने छहरा–बुढीझिर्मी सडक र गर्जुरा–पराल्मी सडक पनि कलोपत्रे र अरसिसी ढलान गरी पक्की बनेका छन्। आर्थिक वर्ष २०८१/०८२ मा मात्रै सडकसहित अन्य विकास बजेटअन्तर्गत ९२ करोड रुपियाँको काम भएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । “धेरै सडक कालोपत्रे र ढलान गरी पक्की गर्न सफल भएका छौं,’’ उहाँले भन्नुभयो, “नगरपालिका भित्र अब बाँकी दुई वर्षमा ३५ किलोमिटर सडक पक्की गरी कुल एक सय किलोमिटर सडक पक्की गर्ने लक्ष्य राखेका छौं ।’’