साहारा लिम्बू
फुङलिङ, असोज २६ गते । ताप्लेजुङमा सापु रोगको सङ्क्रमण बढ्न थालेको छ । जिल्लामा अत्याधिक मात्रामा सेतो पुतली देखिन थालेसँगै सापु रोगको सङ्क्रमण बढ्न थालेको हो ।
अहिले नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा उपचारका लागि आएका मध्ये दैनिक पाँचदेखि छ जनामा सापु रोगको सङ्क्रमण पुष्टि हुने गरेको डिचेन डोङ्गलाका वरिष्ठ नेत्र अधिकृत काजीमान गुरुङले बताउनुभयो । उहाँका अनुसार फक्ताङलुङ गाउँपालिका–६ लेलेपका बसन्त लिम्बू र फुङलिङ नगरपालिकाकी रियाना शाह अति नै जटिल अवस्थामा उपचारका लागि आउनुभएको थियो ।
उहाँहरुमा सापु रोगको सङ्क्रमण पुष्टि भए सँगै थप उपचारका लागि मेची आँखा अस्पताल रेफर गरिएको छ । कतिपयले आँखाको समस्या आए पछि धामी झाँक्रीको भर पर्ने भएका कारण आँखा गुमाउने स्थितिमा पुग्ने गरेको गुरुङको भनाइ छ । लेलेपका बसन्त लिम्बू पनि धामी झाँक्रीको भरमा रहनुभएको थियो । सोही कारण उहाँको आँखामा धेरै समस्या आएको वरिष्ठ नेत्र अधिकृत गुरुङले बताउनुभयो ।
गुरुङका अनुसार लिम्बू र शाहको आँखाको ज्योति फर्किने सम्भावना कम रहेको छ । सेतो पुतलीको सङ्क्रमणबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ । यो आँखामा हुने एक प्रकारको सङ्क्रमण हो, जसले दृष्टि गुम्ने जोखिम निम्ताउन सक्छ ।
जिल्ला अझै धेरै बिरामीहरु स्वस्थ्यको पहुँचदेखि टाढा र आँखाको समस्यालाई सामान्य मान्नेहरू भएका कारण सापु रोग सङ्क्रमणको सङ्खया धेरै नै बढ्ने सम्भावना रहेको गुरुङले बताउनुभयो । सापुको लक्षण देखिएको ४८ देखि ७२ घण्टाभित्रमा आँखाको उपचार नभए रोगीको आँखाको दृष्टि गुम्ने सम्भावना अधिक रहने वरिष्ठ नेत्र अधिकृतले जानकारी दिए । धेरै उज्यालो सेतो बत्ती सेतो पुतलीले मन पराउने भएकाले यस्तो ठाउँमा जोखिम बढी हुने गुरुङले बताए ।
सापु रोग सङ्क्रमणबाट जोगिनका लागि सेतो पुतलीबाट टाढै रहनु पर्ने गुरुङको भनाइ छ । उहाँका अनुसार यसका लागि धेरै उज्यालो सेतो बत्ती नबाल्ने, साँझ र राति झ्याल ढोका बन्द गर्ने, सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने, सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बाल्ने गर्नुपर्छ ।