• २६ असोज २०८२, आइतबार

सुनसरीमा सिटी सफारी चालकको हत्या

blog

जयकृष्ण यादव
इनरुवा, असोज २६ गते ।
सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा सिटी सफारी चालकको हत्या भएको छ । सोही नगरपालिका बस्ने ४५ वर्षीय दिनेश कुमार चौधरीको शनिबार साँझ हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कर्मनिया टोलस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ७८०४ नम्बरको सिटीमा रगताम्य भइ घोप्टो परेको अवस्थामा चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपी केशब कुमार थेबे समेतको प्रहरी टोली घटनास्थलमा पुग्दा चौधरी मृत अवस्थामा फेला पर्नुभएको थियो । उहाँका अनुसार चौधरीको बाँया छातीमा हतियार प्रहार भएका कारण उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्मार्टमका लागि बिपि कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । चौधरीको हत्याको घटना सम्बन्धमा जिल्ला प्रहरी सुनसरीबाट थप अनुसन्धान तथा घटनामा संलग्न व्यक्तिहरुको खोजतलास गर्ने कार्य भइरहेको प्रहरी नायव उपरीक्षक डिएसपी योगराज खतिवडाले जानकारी दिनुभयो ।