मानिसमा परिवर्तनको हुटहुटी कहिले अन्त्य हुँदैन । यो स्वाभाविक मानवीय गुण पनि हो । हाल भएको जेनजी आन्दोलन वा वामपन्थी भाषाको ‘क्रान्ति’ विश्राममा पुगेको छ । यसले दशकौँ पुरानो प्रश्न उठाएको छ, किन नेपाली समाज जुरमुराएर उठ्यो ? आक्रोश किन यसरी विस्फोट भयो ? वर्तमान अवस्थाको जिम्मेवार केही नेता मात्रै हुन् त ? किन र के का लागि भयो यस्तो आन्दोलन ? विदेशीको खेल मैदान त बन्दै छैन हाम्रो मुलुक ? यस्ता थुप्रै प्रश्न अनुत्तरित छन्, यसको उत्तर कुनै किताबमा छैन न त यसको वैज्ञानिक वा भौतिक उपचार छ ।
नेपाल विगत २०/२५ वर्षदेखि असान्दर्भिक माक्र्सवादी वैज्ञानिक र भौतिकवादबाट ग्रसित छ । हामी तर्क र विज्ञानमा आधारित समाज निर्माणको परिकल्पना गर्छौं । मानौँ वैज्ञानिक तर्क नै अन्तिम विन्दु हो । हामी केवल तर्क वा विज्ञानद्वारा मात्र मानिसको अस्तित्वलाई परिभाषित गर्दै छौँ । मानव जीवनको अन्तरात्मामा आस्था, पीडा, आध्यात्मिकता, अपराधबोध, स्वतन्त्रता जस्ता पक्षको राजनीतिक व्याख्या गर्न सकेका छैनौँ । विज्ञान केवल भौतिक विषयको सत्य पत्ता लगाउने एउटा प्रारम्भिक साधन मात्र हो । नेपालको आधुनिक साहित्य र त्यसबाट प्रेरित राजनीति विशेष गरी २० औँ शताब्दीको मध्यविन्दुदेखि पश्चिमी शिक्षा, राजनीति, विज्ञान र विचारधाराबाट प्रभावित भएको पाइन्छ ।
तिनले परम्परा र आधुनिकता, अध्यात्म र तर्कको द्वन्द्व, व्यक्तिको स्वतन्त्रता, समाज, संरचना, श्रेणी व्यवस्था आदि विषयमा प्रश्न उठाउँदै आएका छन् । यसले आधुनिक राजनीतिक मान्यता स्थापना गर्न सहयोग गरेको छ । तर्क, सामाजिक तथा सांस्कृतिक सुधार, समानता, वैज्ञानिक दृष्टिकोण आदिको व्याख्यामा आधारित कानुन बनेका छन् । नेपालको आधुनिक राजनीतिमा पुनर्जागरण ल्याउने बिपी कोइरालाका विचार, कथा र उपन्यासहरूमा मानवीय मानसिकता, व्यक्तिगत स्वतन्त्रता र सामाजिक मूल्यहरूमा आधारित पाइन्छन् । यी केवल वैज्ञानिक गणितीय तर्कमा मात्र सीमित छैनन् । बिपीले ‘मोदीआइन’ उपन्यासमार्फत धार्मिक दर्शन र युद्धको मानवीय प्रभाव देखाएका छन् । युद्ध र धर्मका दर्शनबिचका विचार विवाद उनले उठाएका छन् । यस्तो मानवीय दृष्टिकोणमा आधारित नेपाली राजनीति अहिले विचलित भएको देखिन्छ । बिपी मनोवैज्ञानिक–दार्शनिक चिन्तक पनि हुन् । उनले समाजलाई केवल राजनीतिक र वैज्ञानिक दृष्टिकोण मात्र नभई आध्यात्मिक चेतना पनि दिएका छन् ।
दोस्तोयेभ्स्कीले भने झैँ हामी नेपाली पनि मानसिक रोगको उपचार सर्जरीबाट गर्न खोजिरहेका छौँ, जबकि यसको उपचार भौतिकतामा नभई मनोविज्ञानमै हुन्छ । हामी नेपाली समाजलाई तार्किक बनाउने क्रममा यसलाई मेकानिकल बनाउन थालेका छौँ । हाम्रो समाजले मानवीय पक्ष नष्ट गरिसकेको छ । हाम्रा कविता, साहित्य र सिर्जनाहरू वैज्ञानिक नहुन सक्छन् तर मानवीय अवश्य छन् । देवकोटाको कवितामा शुद्ध तर्क वा विज्ञानभन्दा बढी कल्पना, संवेदना र आध्यात्मिक उडान देखिन्छ । मुनामदन जस्तो कृतिमा जीवनको वास्तविक पीडा र आध्यात्मिक बोधलाई तर्क–विज्ञानको तराजुमा तौलन सकिँदैन तर समाज निर्माणको जरामा भने अवश्य पाइन्छ । भूपि शेरचनको आधुनिक कवितामा उनले ‘तर्कशील आधुनिकता’ को आलोचना गरेका छन्, जहाँ मानव पीडालाई नदेखे झैँ गरिन्छ । अङ्ग्रेजीका दुई शब्द ‘लजिक’ ‘रिजन’ मात्रले समाज र राजनीति व्याख्या गर्न सक्दैनन् । गणितीय हिसाबले समाज र राजनीति व्याख्या गर्नुको उपज नै यो जरजरिएको समाज तथा राजनीति हो । नेपाली समाज पसलमा वस्तुको भाउ तोलमोल गरे झैँ बनेको छ । हामी स्वतन्त्र छैनौँ, नियमनका कसीमा बाँधिएका छौँ । समाज र राजनीतिको नियम भत्काउन सङ्गठन चाहिन्छ भन्ने नाममा भइरहेको क्रान्ति असलमा निराशा र पीडाबाट निस्किएको भुल्को मात्र हो । वैज्ञानिक वा तार्किक हुनु जरुरी होला । पूर्णता मर्म, चेतना, आध्यात्मिकता, स्वतन्त्रता, कल्पना अनि पीडाको मिश्रणमा छ । विष्णु सापकोटा, सिन्दुर पौड्याल तथा अन्य आधुनिक नेपाली उपन्यास र कथाहरूमा व्यक्तिको आन्तरिक मनोविज्ञान, दोषबोध, अपराधबोध, पाप–पछुतो, इमानदारी र बेइमानीको द्वन्द्व आदि विषय भेटिन्छन् ।
२०६२/६३ पछि गगन थापा, प्रचण्ड, केपी ओली जस्ता तार्किक नेता धेरै देखा परे । उनीहरू राजनीति र समाजलाई बाटो, रेल, खोला, धारो, जिडिपी, विमानस्थल, कलकारखाना जस्ता भौतिक विषयमा मात्र सीमित रहे तर यिनै नेताहरूले स्वतन्त्रता, धर्म, संस्कृति, लोकतन्त्र, गणतन्त्र जस्ता अमूर्त दार्शनिक विषयलाई महìव दिएनन् । समाज, कानुन र राजनीति उपयोगिता तथा लोकप्रियताको दृष्टिकोणबाट मात्रै व्याख्या हुन थाल्यो । चेतना, मर्म, कल्पना, पीडा, दुःख–सुखलाई निजी र व्यक्तिगत विषय बनाइयो । चेतना, मर्म, कल्पना, पीडा, दुःख–सुखलाई निजी र व्यक्तिगत विषय बनाइयो । यसरी पारम्परिक धर्म, सामुदायिक सहिष्णुता र सामाजिक मूल्यमा आधारित प्रणाली अस्वीकार हुँदै गयो । ती संस्कृतिमा आधारित दाबीको अन्त्यसँगै नेपाल मनोवैज्ञानिक, नैतिक र आध्यात्मिक पतनतर्फ उन्मुख भयो । हालै भएको जेनजी आन्दोलनको व्याख्या पनि केवल तर्क र उपयोगितावादको दृष्टिकोणले मात्र भएको छ । त्यस्तो व्याख्या गर्ने हो भने देशको जेलमा ठाउँ हुँदैन ।
यसको व्याख्या संसद्, अदालत र समग्र राजनीतिले मनोवैज्ञानिक, आध्यात्मिक, चेतनाको दृष्टिबाट गर्नु पर्छ । दोष–निर्दोषको आधारमा मात्र व्याख्या गर्दा निराशाको आगो र बदलाको सल्किने सम्भावना बढ्छ । अहिलेको राजनीतिले तर्क र अनुभव, अन्धकार र प्रकाश, पाप र पछुतो, आत्मा र दिमागबिचको गहिरो व्याख्या गरेर मात्र निष्कर्षमा पुग्न सक्छ । हामीले अब पनि राजनीतिको मनोवैज्ञानिक र आध्यात्मिक पक्ष समेटेनौँ भने ढिलोचाँडो देश फेरि प्रतिशोधको अर्को आगोमा दन्किने छ । त्यो अवस्थामा केवल कथा र पात्र मात्र फेरिने छन् । नेपाल २०६२/६३ पछिको विचारधारात्मक द्वन्द्व, अपराध र न्यायको व्याख्या, त्यसले ल्याएको मानसिक पीडा र सामाजिक विचलन, सिद्धान्त र अनुभवबिचको अन्तरद्वन्द्वमा फसेको छ ।
अपराधबोधबाट मुक्ति पाई तर्कको सीमापारि एउटा मानवीय तत्वको आवश्यकता छ । नेपालीको व्यक्ति स्वतन्त्रता र सामाजिकतामा आधारित मान्यता द्वन्द्वमा छन् । २०६२/६३ पछिका राजनीतिक पात्रहरूले व्यक्तिवादी स्वतन्त्रताको दाबी गर्छन् । नेपाली समाज अझै पनि मानव सम्बन्धले गाँसिएको छ । नेपाल मात्र होइन दक्षिण एसियाका अन्य देशमा पनि यस्तै समस्या देखिन्छ ।
जवाहरलाल नेहरू विज्ञान र तर्कमा विश्वास गर्ने आधुनिकतावादी नेता थिए । उनले भौतिक पूर्वाधार, विश्वविद्यालय, उद्योग र लोकतन्त्रिक संस्थाको आधार निर्माण गरे । उनले धार्मिक आस्था र परम्परागत संरचनालाई बेवास्ता गर्दा, समाजको ठुलो भाग मनोवैज्ञानिक रूपमा असुरक्षित रह्यो । यही असुरक्षाबाट पछि हिन्दुत्वको राजनीति बलियो बन्यो । गान्धीविरुद्ध नेहरूः महात्मा गान्धी राजनीति केवल तर्क र विज्ञानको भाषामा होइन, आत्मा, नैतिकता र आस्थामा आधारित हुनुपर्ने बताउँथे । नेहरू विज्ञान–उन्मुख ‘टेम्पल अफ मोडर्निटी’ बनाउन चाहन्थे भने गान्धी गाउँ, आध्यात्मिक मूल्य र आत्मनिर्भरतालाई केन्द्रमा राख्थे । यो द्वन्द्व अझै भारतीय राजनीतिमा जिउँदो छ ।
धार्मिक आस्था, पुण्य पाप सोचेर मन्दिर जाने युवा अध्यात्म र गणितीय तरमतमा अलमलिएका छन् । नेपाली व्यक्तिगत इच्छा र सामाजिक प्रतिबन्धबिच सङ्घर्ष गरिरहेका छन् । उदाहरणका लागि, अझै पनि प्रेम, विवाह, जात, धर्म, परिवारका मान्यतासँग विरोधाभासमा बाँचेका नेपाली दार्शनिक उत्तर खोजिरहेका छन् । तर्क र वैज्ञानिक सोचले मानव जीवनका संवेदनशील, आध्यात्मिक र भावनात्मक पक्षलाई निहित रूपमा बेवास्ता गर्दा के–कस्तो समस्या उत्पन्न हुन्छ भन्ने जेनजी एउटा दार्शनिक चेतावनी हो । यो द्वन्द्वको भुमरीबाट उम्कनु छ भने आत्मविवेक, प्रेम, पश्चाताप, सामाजिक सम्बन्ध, विश्वास आदि मानवीय मूल्यको स्थान खाली हुँदैन । बरु जीवनलाई सम्पूर्ण बनाउँछ । यी विषय राजनीति र सङ्गठनका माध्यमबाट विस्तार गर्नु आवश्यक छ ।
हाल भारतमा आर्थिक वृद्धिलाई मात्र राष्ट्रसँग जोडिएको छैन । यो जनताको मनोवैज्ञानिक चेतनासँग पनि जोडिएको छ । सडक, पुल, मेट्रो, डिजिटल इन्डिया जस्ता भौतिक उपलब्धि हुन् तर धर्म र आध्यात्मिकताको समिश्रणले सबै समाजलाई जुटाएको छ । यद्यपि यसमा धार्मिक धु्रवीकरण छन् । सबै धर्मलाई उत्तिकै सहभागी गराउने हो भने एउटा वैज्ञानिक, विकासुमुख र समवेदनशील आध्यात्मिक समाजको उद्धारण बन्न सक्छ । आजको युवा पुस्ता, विशेष गरी जेन जेड जीवनप्रति पुराना पुस्ताको दृष्टिकोणभन्दा बिल्कुल भिन्न सोच राख्छ । उनीहरूको चेतना केवल भौतिक उपलब्धि, करिअर र प्राविधिक सफलता मात्रै सीमित हुन हुँदैन । समाजको अस्तित्व, स्वतन्त्रता, पहिचान र सामाजिक न्यायसँग गाँसिएको नयाँ दर्शनसँग पनि जोड्न जरुरी छ । जेन जेडले उठाउने प्रश्नहरू केवल ‘राजनीति’ वा ‘विकास’ को घेराभित्र सीमित हुन हुँदैन । आउँदो पुस्ताको जीवनलाई व्यापक अर्थमा बुझ्न खोज्छनु पर्छ । तर्क, विज्ञान, भौतिकता आवश्यक भए पनि यी पर्याप्त छैनन् । यो अहिलेको पुस्ताको अनुभव पनि हो । त्यसैले, जेन जेड आन्दोलनलाई केवल असन्तुष्टि वा विद्रोहको आँधिभेरी भनेर व्याख्या गर्नु अधुरो हुन्छ । यसको मूलमा मनोवैज्ञानिक चेतनाको विश्लेषण गर्न जरुरी छ, जुन वर्तमान नेपाली समाजका असन्तुलन र विकृतिको जगमा जन्मिएको हो ।
जेन जेड पुस्ताले सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र विश्वव्यापी सूचना–प्रवाहमार्फत संसारलाई नजिकबाट अनुभव गरेको दाबी गर्छन् । उनीहरूले पश्चिमी भौतिकवाद र तर्कको सीमित छन् । पूर्वीय दर्शन र आध्यात्मिकताको मनावैज्ञानिक गहिराइ देखाउन जरुरी छ । यही कारण उनीहरूको चेतनालाई द्वन्द्वबाट मुक्त बनाउनेतर्फ नीति ल्याउनु पर्छ । प्रश्न ‘केवल विज्ञानले मान्छे परिभाषित हुन्छ कि मानवता, आस्था र संवेदनाले पनि आवश्यक स्थान ओगट्छ ?’ जेनजेड आन्दोलन, आवाज र प्रतिवादका माध्यम मात्रको त, के यो चरम निराश व्यक्त गर्दैन ? गर्छ भने भौतिक सर्जरी गर्नु मूर्खता हो । यस्को मनोवैज्ञानिक उपचार गर्नु पर्छ ।
जेनजेड आन्दोलनको उद्देश्य असन्तुष्टिको आँधी ल्याउनु मात्र होइन, दार्शनिक पुनर्जागरणको माग पनि हो । यो पुनर्जागरण गर्न जरुरी छ, भावी पुस्ताको जीवनलाई तर्क र विज्ञानले मात्रै होइन, भावनात्मक गहिराइ, नैतिकता र आध्यात्मिक चेतनाले पनि परिभाषित गर्नु पर्छ । राजनीति र समाजले यस पुस्ताको आक्रोशलाई बुझ्न सकेन र यसको दार्शनिक उपचार गर्न नसक्ने हो भने, नेपाल फेरि प्रतिशोध र निराशामा धकेलिन सक्छ । उनीहरूको आवाजलाई दार्शनिक प्रश्नका रूपमा लिएर त्यस अनुसार नीति, संस्कृति र समाजमा सुधार ल्याइयो भने, यो आन्दोलन नेपाललाई नयाँ चेतना, समवेदना र आशाको बाटोतर्फ लैजान सक्ने ऐतिहासिक अवसर बन्न सक्छ ।