• २६ असोज २०८२, आइतबार

खजुरामा पोल्ट्री म्युजियम बन्दै

blog

जमुनाह समाचारदाता

जमुनाह (बाँके), असोज २६ गते । बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा पोल्ट्री म्युजियम बन्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको तीन लाख लगानीमा पोल्ट्री म्युजियम बनाउने योजनामा काम गरिरहेको कुखुरा विकास फार्मका कार्यालय प्रमुख डा. सुमन खनालले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार म्युजियममा फार्ममा भएका सबै प्रजातिका कुखुराको विकासक्रम, प्रजाति, उत्पादन प्रविधि र उक्त कुखुराको सम्पूर्ण जानकारी राखिने छ । “यो म्युजियमले विद्यार्थी, अनुसन्धानकर्ता र पोल्ट्री व्यवसायीलाई उपयोगी अध्ययन स्थलका रूपमा सहयोग गर्ने छ,” उहाँले भन्नुभयो, “यसर्थ पनि हामी उक्त पोल्ट्री म्युजियमलाई लगत्तै सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।”

हाल म्युजियम निर्माणको प्रारम्भिक डिजाइन तयार पारिएको र आवश्यक उपकरण तथा सूचना सामग्री सङ्कलनको काम भइरहेको फर्मले जनाएको छ । स्थानीय समुदाय, किसान र व्यवसायीलाई समेत यस म्युजियमले पोल्ट्री उद्योगको महत्व र सम्भावनाबारे जानकारी दिने अपेक्षा गरिएको छ ।

कुखुरा विकास फार्मका कार्यालय प्रमुख डा. खनालका अनुसार, म्युजियम निर्माणसँगै खजुरा क्षेत्र पोल्ट्री व्यवसायको मोडल केन्द्रका रूपमा विकास हुने छ ।

कुखुरा विकास फार्म खजुरामा सात प्रजातिका कुखुरा र अन्डा उत्पादन हुँदै आएको छ । जसमा घाँटी खुइले, प्वाँख उल्टे, साकिनी, ब्ल्याक अस्टलोप, न्यु हेम्पसार र कडकनाथ प्रजातिका कुखुरा छन् । यस कार्यालयले स्थानीय प्रजातिको कुखुराहरूको संरक्षण तथा अन्डा र चल्ला उत्पादन गरेर सुपथ मूल्यमा किसानलाई उपलब्ध गराउँदै आएको छ । 

कार्यालय प्रमुख डा. खनालले भन्नुभयो, “दुई महिना पूरा हुँदा हामीले १० लाख माथि राजस्व सङ्कलन गरेका छौँ । १० हजार जति चल्ला उत्पादन गरिसकेका छौँ ।”