गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २६ गते । न्याय सेवा आयोगले दुई जनालाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा र पदस्थापनका लागि सिफारिस गरेको छ । आयोगको बैठकले सहसचिव जितेन्द्रबाबु थपलिया र कायममुकायम नायब महान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई बढुवा र पदस्थापन सिफारिस गरेको हो । आयोगको सिफारिस अनुसार अब मन्त्रीपरिषद्ले नियुक्तिको प्रक्रिया अघि बढाउने छ ।
आयोगको निर्णय अनुसार थपलियालाई न्यायपरिषद्को सचिवमा पदस्थापन सिफारिस भएको छ । यस्तै पुडासैनीलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापनका लागि सिफारिस भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कार्यरत सचिव सूर्यराज दाहालको महान्यायाधिवक्ता कार्यालयमा सरुवा भएको छ ।
यस्तै आयोगले उच्च सरकारी वकिल कार्यालय बुटवलमा कार्यरत सहन्यायाधिवक्ता सोमकान्त भण्डारीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको छ । भण्डारीको स्थानमा सहन्यायाधिवक्ता सन्देश श्रेष्ठलाई पठाउने तयारी कार्यालयको छ ।
यस्तै आयोगले न्याय समूहका १४४ जना शाखा अधिकृतको एकै पटक सरुवा गरेको छ । सरुवा हुनेमा उच्च अदालतका विभिन्न इजलासका इजलास अधिकृत, जिल्ला अदालतमा कार्यरत तहसिलदारलगायत छन् । यस्तै कानुन समूहका सात कानुन अधिकृतको पनि आयोगले सरुवा गरेको छ । सरकारी वकिल समूहका ३३ जनाको पनि आयोगले सरुवा गरेको छ । आयोगले न्याय समूहका ५२, कानुन समूहका १४ र सरकारी वकिल समूहका १५ नयाँ शाखा अधिकृतको नियुक्ति र पदस्थापन गरेको छ ।
आयोगले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्य पदमा महान्यायाधिवक्ता कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।