• २६ असोज २०८२, आइतबार

बहत्तर देशका आरोहीले लिए अनुमति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २६ गते । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्न ७२ देशका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार विभिन्न ४२ वटा हिमाल आरोहण गर्नका लागि नेपालसहित ७२ देशका ८०२ जनाले अनुमति लिएका हुन् ।

विभागका निर्देशक लीलाधर अवस्थीले भन्नुभयो, “शरद् ऋतुमा हिमाल आरोहण गर्न शनिबारसम्म ८०२ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा सबैभन्दा बढी चीन, अमेरिका र बेलायतबाट रहेका छन् भने सबैभन्दा बढी आरोहीको आकर्षण मनासलु, हिमलुङ र मआदब्लम हिमालमा देखिएको छ ।” 

आरोहण अनुमतिबापत १९ करोड १३ लाख ८९ हजार ४४२ रुपियाँ हिमाली दस्तुर सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष मनासलुमा आरोहणका लागि सबैभन्दा बढी ३७४ जनाले अनुमति लिएका छन् । मनासलुबाट मात्रै १५ करोड ७६ लाख ४० हजार १९५ रुपियाँ सङ्कलन भएको छ । शरद् ऋतु मनासलु आरोहणका लागि उपयुक्त मौसम मानिने र सगरमाथा आरोहणको पूर्वतयारीका रूपमा मनासलु आरोहीको सर्वाधिक रोजाइमा पर्छ । विभागका अनुसार एक दशकभन्दा बढी समयदेखि शरद् ऋतुमा आरोहण हुन नसकेको सगरमाथामा यस पटक पनि आरोहण गर्न चार जनाले अनुमति लिएका छन् । सगरमाथामा सन् २०१० यता शरद् ऋतुमा आरोहण हुन सकेको छैन । सरकारले वर्षमा मार्च, अप्रिल र मे महिनामा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद् ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।