गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २६ गते । लगनखेलस्थित मानसिक अस्पतालमा दैनिक १३० देखि १५० जना बिरामी बहिरङ्ग विभाग (ओपिडी) मा आउने गर्छन् ।
तीमध्ये १० जना भर्ना गरेर उपचार गराउनुपर्ने अवस्थाका बिरामी आउँछन् । यो मानसिक अस्पताल देशकै केन्द्रीय अस्पताल भएको हुनाले देशभरबाट प्रेषण भएर लगनखेलस्थित मानसिक अस्पतालमा बिरामी आउने गरेका छन् ।
अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. वासुदेव कार्कीले आकस्मिक, बच्चाको शय्यासहित अस्पतालमा जम्मा ७२ शय्या मात्र रहेको जानकारी दिँदै अस्पतालमा शय्या कम भएकाले बिरामीका लागि समस्या भएको बताउनुभयो ।
उहाँले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या भएका बिरामीको सङ्ख्या बढिरहेको जानकारी दिँदै त्यस अनुसारको जनशक्तिलगायतका संरचना सीमित हुँदा समस्या थपिएको बताउनुभयो । नेपालमा मानसिक स्वास्थ्य भार १४ प्रतिशत रहेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार नेपालका ४.३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या रहेको छ ।
परिषद्ले गरेको मानसिक स्वास्थ्य सर्वेक्षणबाट १० प्रतिशत वयस्कमा जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्या रहेको देखाएको छ । परिषद्ले गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा सात वटै प्रदेशका १५ हजार ८८ जना सहभागी गराइएका थिए । सहभागीमध्ये नौ हजार दुई सय जना १८ वर्ष माथिका वयस्क थिए ।
सर्वेक्षणमा पाँच हजार ८८८ जना १३ देखि १७ वर्षसम्मका किशोरकिशोरी थिए । जसमा तीन प्रतिशत वयस्कमा उदासीनताको समस्या देखिएको पाइएको छ । यस्तै ६.५ प्रतिशत वयस्कमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र १.१ प्रतिशत वयस्कले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ । परिषद्का अनुसार ४.२ प्रतिशत वयस्कमा मादक पदार्थ सेवन गरेका कारण र ०.२ प्रतिशत वयस्कमा मादक पदार्थबाहेक अन्य कुनै प्रकारका नसालु पदार्थ सेवन गरेका कारण मानसिक स्वास्थ्य समस्या भएको पाइएको थियो । यस्तै ४० देखि ४९ वर्ष उमेर समूहका ६.३ प्रतिशत वयस्कमा यस्तो समस्या भएको देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।