• २६ असोज २०८२, आइतबार

सिटिइभिटीका पन्ध्र हजार उत्तरपुस्तिका जले

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २६ गते । गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनका क्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का विभिन्न शिक्षालयमा अध्ययनरत १५ हजार परीक्षार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएका छन् । 

परीक्षार्थीको परीक्षा सकेर सुरक्षाका लागि विभिन्न प्रहरी चौकीमा राखिएका ती उत्तरपुस्तिका जलेका हुन् । उक्त आन्दोलनका क्रममा आन्दोलनकारीले प्रहरी चौकीमा आगजनी र तोडफोड गरेका थिए । सिटिइभिटीका सदस्यसचिव महेश भट्टराईका अनुसार बागमती प्रदेशका १८ वटा प्रहरी चौकी र कोशी प्रदेशका पाँच वटा प्रहरी चौकीमा राखिएका उत्तरपुस्तिका जलेका हुन् । बागमती प्रदेशमा जलेका अधिकांश उत्तरपुस्तिका काठमाडौँका छन् । ती उत्तरपुस्तिका सिटिइभिटीले सञ्चालन गरेको डिप्लोमा र प्रिडिप्लोमा तहका इन्जिनियरिङ, स्वास्थ्यलगायतका विषयमा अध्ययनरत विद्यार्थीका हुन् । 

यो घटनाका कारण विद्यार्थीले अनाहकमा दुःख पाएका छन् भने उनीहरूको वर्षभरिको मेहनत खेर गएको छ । नियमित तालिका अनुसार सञ्चालन गर्नुपर्ने तर आन्दोलनका कारण रोकिएका परीक्षा सिटिइभिटीले कात्तिक ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै उत्तरपुस्तिका जलेर नष्ट भएका परीक्षार्थीका लागि पनि फेरि मङ्सिर ४ गतेदेखि दोस्रो पटक परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको सदस्यसचिव भट्टराईले बताउनुभयो । 

उहाँका अनुसार यसअघि स्थगित भएका तथा उत्तरपुस्तिका जलेका विषयका परीक्षा मङ्सिर महिनाभित्रमा सम्पन्न हुने छ तर केही विद्यार्थीले दुई पटक परीक्षा दिनुपर्दा आफूहरूलाई समस्या पर्ने गुनासो गर्दै उत्तरपुस्तिका जलेको दिनको परीक्षालाई आन्तरिक मूल्याङ्कनबाट प्राप्ताङ्क दिनुपर्ने माग गरेका छन् । 

आन्तरिक मूल्याङ्कन गर्न समस्या पर्ने भएका कारण परीक्षा नै सञ्चालन गर्न लागिएको सिटिइभिटीले जनाएको छ । सदस्यसचिव भट्टराईले विद्यार्थीको भविष्य र विश्वस्तरको प्रतिस्पर्धाका लागि सही मूल्याङ्कन अनिवार्य रहेको बताउँदै पुनः परीक्षा आवश्यक रहेको बताउनुभयो ।