गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २६ गते । जेनजी आन्दोलनमा मालपोत कार्यालय जलेर नस्ट भए पनि जग्गाको स्रेस्ता कायम गर्न समस्या नहुने भएको छ । भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले मातहतका निकायलाई स्रेस्ता कायम गर्न विभिन्न विकल्पसहितको परिपत्र गरेको छ । जारी परिपत्रमा जग्गाधनीसँग भएको सक्कल प्रमाण पुर्जा भूअभिलेख सूचना प्रणाली एलआरआइएमएस (ल्यान्ड रेकर्ड इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) मा भएको अभिलेखसँग भिडेमा नयाँ स्रेस्ता कायम हुने भएको छ ।
जग्गाधनी पुर्जा फरक पर्न गएमा डिएमएस (डकुमेन्ट म्यानेजमेन्ट सिस्टम) मा भएको अभिलेखसँग भिडान गर्ने र अभिलेख भिडेको अवस्थामा विवरण अद्यावधिक गरी नयाँ स्रेस्ता कायम हुने व्यवस्थासहित परिपत्र भएको मन्त्रालयका उपसचिव जीवनराज सेढाईंले जानकारी दिनुभयो ।
पुर्जा फरक पर्न गएमा र डिएमएसमा पनि विवरण नभिडेमा तामेलीमा रहेको अभिलेख भिडेको अवस्थामा विवरण अद्यावधिक गरी स्रेस्ता कायम गर्न परिपत्र भएको छ । तामेलीमा रहेको अभिलेख पनि नभिडेमा डिएलआइएसको अभिलेख, नापी कार्यालयमा रहेको फिल्ड बुक तथा प्लटरजिस्टर, नक्सा, स्थानीय तहमा रहेको मालपोत लगत र कर बुझाएको रसिदलाई आधार माानेर स्रेस्ता कायम गरिने भएको छ ।
परिपत्रका अनुसार पुर्जाको प्रतिलिपि वा पारित लिखतको सक्कल पेस भएका वा बैङ्क तथा वित्तीय संस्था, अड्डा अदालत वा अन्य निकायमा पेस गरेको कागजात सम्बन्धित निकायबाट प्रमाणित प्रतिलिपि पेस भएमा र स्थानीय तहबाट हक भोगको सिफारिस लिएर पनि स्रेस्ता कायम गर्न सकिने छ । पुर्जा पेस नभएमा वा पेस भएको प्रमाण यकिन हुन नसकेमा आवश्यकता अनुसार हक भोगसम्बन्धी स्थानीय तहको सिफारिस, स्थलगत सर्जमिन र सार्वजनिक सूचना गर्न सकिने पनि परिपत्रमा उल्लेख छ ।
जग्गा रोक्का राखेको निकाय, बैङ्क तथा वित्तीय संस्था, प्रशासनिक निकाय तथा न्यायिक निकायलाई रोक्का राखिएको अचल सम्पत्तिको विवरण उपलब्ध गराई प्राप्त विवरण भिडाएर पनि अभिलेख अद्यावधिक गर्ने सकिने सेढाईंले बताउनुभयो ।
अनलाइन प्रणाली दर्ता नभएको खण्डमा पनि जग्गाधनीसँग रहेको सक्कली प्रमाणपत्र र वडाको सिफारिस भए स्रेस्ता कायम हुने भएको छ । कलङ्कीस्थित मालपोत कार्यालयले अनलाइनमा इन्ट्री भएको जग्गाको सक्कल प्रमाणपत्र लिएर आउँदा स्रेस्ता कायम गर्न सकिने जनाएको छ । कार्यालयका प्रमुख रवीन ढकालले भन्नुभयो, “सक्कल प्रमाण र अनलाइन ‘इन्ट्री’ सुरक्षित छ भने ढुक्क हुनूस् शतप्रतिशत स्रेस्ता कायम हुन्छ । जग्गाका सक्कल प्रमाण सुरक्षित राख्नुहोला ।”
मालपोत कार्यालय कलङ्कीमा दुई लाख ५० हजारदेखि तीन लाखसम्मको सङ्ख्यामा स्रेस्ता जलेर नस्ट भएको छ । कार्यालयले २०७७ पुसदेखि अनलाइनमा अध्यावधिक गर्दै आएको छ । कार्यालयले सकेसम्म धेरै प्रमाण सङ्कलन होस् भनेर १० प्रकारको प्रमाण पेस गर्न सूचना सार्वजनिक गरेको थियो । प्रमुख ढकालको भनाइ छ, “जग्गाको प्रमाण सक्कल जग्गाधनीसँग पनि छ । अनलाइनमा छ । त्यसकारण कसैलाई भ्रम फैलाउने गरी सूचना प्रवाह नगर्न अनुरोध गर्दछौँ । आधिकारिक सूचना सदुपयोग गरौँ ।” जग्गाको प्रमाण तल–माथि गर्न सकिन्छ कि भनेर सङ्गठित गिरोह र बिचौलियाको चलखेल हुन सक्ने भएकाले स्वयं जग्गाधनी सजग रहन कार्यालयले अनुरोध गरेको छ ।
तर त्यस्ता गतिविधि रोक्न कार्यालय गम्भीर रहेको उहाँको भनाइ छ । कलङ्कीमा आकस्मिक रोक्का फुकुवाको काम आइतबारदेखि हुने र नियमित सेवा सात/दस दिनमा सञ्चालनमा आउने ढकालले बताउनुभयो । मन्त्रालयको परिपत्रलाई कार्यान्वयन गर्न/गराउन भूमि व्यवस्था तथा अभिलेख विभागले आन्दोलनमा नस्ट भएको मालपोत कार्यालयहरू कैलाली, नेपालगन्ज, घोराही, विराटनगर, तुल्सीपुर, पोखरा, भरतपुर, खैरहनी, कलङ्की र बुटवललाई परिपत्र गरेको छ । उक्त कार्यालय केही आंशिकबाहेक पूर्ण रूपमा नस्ट भएका छन् ।