हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असोज २५ गते । लिजी–नेचुङ नाका (कोरला) बाट आयात हुने सामानलाई कोरला–जोमसोम–बेनी सडक खण्डमा सहज ढुवानी, पर्यटकलाई सचेतना, अपराध नियन्त्रणदेखि विपद् व्यवस्थापनका साथै नाका क्षेत्रमा देखिने अन्य समस्या समाधानसम्मका बिषयमा मुस्ताङ र म्याग्दी जिल्लाले सहकार्य गरिने भएको छ ।
मुस्ताङमा शनिबार प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको अन्तरजिल्ला सुरक्षा समन्वय बैठकमा बेनी–जोमसोम सडकलाई नियमित सञ्चालनका लागि सडक आयोजना तथा अन्य संयन्त्रलाई प्रभावकारी बनाउने, मुस्ताङमा घुम्न आउने पर्यटकलाई सचेतनामुलक अभियानमार्फत स्वास्थ्य समस्या न्यूनिकरण गरिनेछ ।
बैठकमा लागुऔषध नियन्त्रणका लागि जिल्लाका सीमानाकामा कडाई गर्ने, शान्ति सुरक्षा कायम गर्न र सूचनाहरू आदानप्रदान, विपद्का घटनासँग समन्वय, सुरक्षाका लागि अन्तरजिल्लास्तरीय सुरक्षा बैठकलाई समयअनुकुल नियमित गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताउनुभयो ।
प्रजिअ भुषालले भन्नुभयो, ‘‘कोरला नाकाबाट बाहिरिने ढुवानीका साधनलाई सडकमा देखिएको समस्या समाधानमा धेरै केन्द्रित भइएको छ, अन्य अन्तरजिल्लाका समस्या समाधानमा सहकार्य गर्ने निष्कर्षमा बैठक सकिएको छ ।’’
बैठकमा बेनी–जोमसोम सडक ७४ किमी र जोमसोम–कोरला ११० किमी सडकका समस्या, म्याग्दीबाट भित्रिएका पर्यटक सिधै उपल्लो क्षेत्रमा पुग्दा लेक लाग्ने समस्या, बाढीपहिरोले लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रुले भोग्नुपरेको सास्ती र लागुऔषध र आपराधिक घटनाबारेमा बैठकमा छलफल भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो ।