• २५ असोज २०८२, शनिबार

कोभिड-१९ सङ्क्रमणले मुसाको शुक्राणु परिवर्तन, सन्तानमा चिन्ता बढ्ने सम्भावना : अध्ययन

blog

सिड्नी, असोज २५ गते । हालै प्रकाशित एक नयाँ अध्ययनले कोभिड-१९ भाइरसले मुसाको शुक्राणुमा परिवर्तन ल्याउन सक्ने र यसले उनीहरूको सन्तानमा चिन्ताजनक व्यवहार बढाउन सक्ने देखाएको छ । 

यसले महामारीका दीर्घकालीन पुस्तागत प्रभावबारे गम्भीर प्रश्न उठाएको छ । अस्ट्रेलियाको मेलबर्नस्थित फ्लोरे इन्स्टिच्युट अफ न्युरोसाइन्स एन्ड मेन्टल हेल्थका अनुसन्धानकर्ताले गरेको अध्ययनमा भाले मुसालाई कोभिड-१९ भाइरसले सङ्क्रमित गरियो र त्यसपछि ती मुसालाई असङ्क्रमित पोथी मुसासँग मिलाइयो । 

अनुसन्धानकर्ताले त्यसपछि जन्मिएका सन्तानको व्यवहार र मस्तिष्कीय विकासमा परेको प्रभावको अध्ययन गरे । “हामीले पत्ता लगायौँ कि सङ्क्रमित पिताबाट जन्मिएका सन्तानले असङ्क्रमित पिताका सन्तानको तुलनामा बढी चिन्ताजनक व्यवहार प्रदर्शन गरे”, अध्ययनकी मुख्य लेखिका डा.एलिजाबेथ क्लेम्यानले भन्नुभयो ।

नेचर कम्युनिकेसन्स नामक प्रतिष्ठित सहकर्मी-समीक्षित जर्नलमा प्रकाशित उक्त अध्ययन अनुसार सङ्क्रमित पिताबाट जन्मिएका सबै सन्तानमा समान परिवर्तन देखिए । विशेष गरी, तीमध्ये पोथीले मस्तिष्कको भावनात्मक नियन्त्रणमा भूमिका खेल्ने हिप्पोक्याम्पस क्षेत्रमा केही महत्त्वपूर्ण जीनहरूको क्रियाशीलतामा उल्लेखनीय परिवर्तन देखाए ।

सह–वरिष्ठ अनुसन्धानकर्ता डा.क्यारोलिना गुबर्टले भन्नुभयो, “यी परिवर्तन एपिजेनेटिक उत्तराधिकार र मस्तिष्क विकासमा हुने असन्तुलनका कारण सन्तानमा देखिएको बढी चिन्ताको स्रोत हुन सक्छन् ।” अनुसन्धानका प्रमुख लेखक डा.एन्थोनी हान्नानले भन्नुभयो, “यो अध्ययनले कोभिड-१९ सङ्क्रमणले पिताको शुक्राणुको आरएनएमा अणु–स्तरमा परिवर्तन ल्याउने देखाएको छ, जसले मस्तिष्क विकाससँग सम्बन्धित जीनको नियमनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।”

फ्लोरे इन्स्टिच्युटका अनुसार यो अध्ययन यस्तो प्रकारको पहिलो प्रमाण हो जसले कोभिड सङ्क्रमणले भावी पुस्ताको व्यवहार र मस्तिष्क विकासमा दीर्घकालीन प्रभाव पार्न सक्ने सम्भावना देखाउँछ । डा. हान्नानले भन्नुभयो, “यी निष्कर्ष अत्यन्तै महत्त्वपूर्ण छन् । यदि यस्ता परिवर्तन मानवमा पनि दोहोरिए भने यसले विश्वभरका लाखौँ बालबालिका र उनीहरूका परिवारको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ ।”

तर अनुसन्धानकर्ताले यसबारे सावधानीपूर्वक निष्कर्ष निकाल्दै मानिसमा पनि यस्ता परिवर्तन हुन्छन् कि हुँदैनन् भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२० को सुरुमा फैलिएको कोभिड-१९ महामारीले अहिलेसम्म विश्वभर ७० लाखभन्दा बढी मानिसको मृत्यु गरिसकेको छ । यद्यपि वास्तविक सङ्ख्या योभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ ।

महामारी र त्यसका लागि अपनाइएका प्रतिबन्धात्मक उपायले विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यमा गहिरो असर पारेको पनि प्रमाणित भइसकेको छ । विशेष गरी, आफ्नो जीवनको सामाजिक रूपले संवेदनशील अवस्थामार्फत अलगावमा बस्न बाध्य भएका युवामा यसले दीर्घकालीन मानसिक असर पारेको विभिन्न अध्ययनले देखाएका छन् ।

सन् २०२३ मा नेचर ह्युमन बिहेभियर जर्नलमा प्रकाशित १५ देशका करिब ४० वटा अनुसन्धानको समीक्षाले बालबालिका अझै पनि महामारीका कारण शिक्षामा परेको अवरोधको प्रभावबाट पूर्णरूपमा उक्लन नसकेको निष्कर्ष निकालेको थियो । रासस/एएफपी