• २५ असोज २०८२, शनिबार

टोल विकासद्वारा रक्तदान र सम्मान

blog

टोल विकास संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रम ।

ज्ञानु पङ्गेनी

मध्यविन्दु, असोज २५ गते । नवलपुरको कावासोती-५ मा रहेको पुष्पाञ्जली टोल विकास संस्थाको आयोजनामा शनिबार रक्तदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ ।  

कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । संस्थाले ७० वर्ष नाघेका २४ जना ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा अण्डा र हर्लिक्स तथा खादामालाले सम्मान गरेको छ । यस्तै, १३ जना सहयोगदातालाई सम्मापत्रले सम्मान गरेको छ । 

कावासोती-५ को समन्वय तथा नवलपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । टोल विकासका लागि गठन भएको संस्थाले केही रचनात्मक र सामाजिक काम गर्नुपर्छ उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष हेमराज थापाले जानकारी दिनुभयो । बजारबाट टाढा रहेको, ग्रामीण बस्ती भएको क्षेत्र भए पनि सबैको साथ सहयोगले रक्तदान कार्यक्रम सफल भएको उहाँले बताउनुभयो । 

वडा ५ का अध्यक्ष निरज पुनले पुष्पाञ्जली टोल विकास संस्थाले उदाहरणीय काम गरेको बताउनुभयो । टोल विकास संस्थाले कावासोती नगरपालिकामा कुनै पनि टोल विकास संस्थाले नगरेको काम गरेको बताउनुभयो । समुदायले गर्ने हरेक काममा हातेमालो गर्न वडा कार्यालय तयार रहेको उहाँले प्रतिबद्धता जनाउनुभयो ।