पोर्ट सुडान, असोज २५ गते । पश्चिमी सुडानको घेराबन्दीमा परेको सहर अल-फासेरमा अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा गरिएको ड्रोन आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको स्थानीय कार्यकर्ता समूहले जनाएको छ ।
एल-फासेर प्रतिरोध समितिका अनुसार आरएसएफले विश्वविद्यालयको मैदानभित्र रहेको दार अल–अर्काम विस्थापन केन्द्रमा लक्षित हमला गरेको हो । उक्त केन्द्रमा युद्धबाट विस्थापित सयौँ नागरिक आश्रय लिएर बसेका थिए । समितिले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई ‘नरसंहार’ को संज्ञा दिँदै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेपका लागि आग्रह गरेको छ ।
समितिका कार्यकर्ताहरूका अनुसार धेरै शव अझै भूमिगत आश्रयमा फसेका छन् । उनीहरूले भनेका छन्, “एल–फासेर अहिले भोकमरी र हिंसाको कारण खुला मूर्दाघरमा परिणत भएको छ ।” स्थानीय प्रतिरोध समिति सुडानमा नागरिक सहायता समन्वय गर्ने र युद्ध अपराध तथा अत्याचारका घटना अभिलेख गर्ने स्वयंसेवी समूह हुन् ।
आरएसएफ र सुडानको नियमित सेनाबिचको युद्ध सन् २०२३ को अप्रिलदेखि जारी छ । यस भीषण द्वन्द्वले दशौँ हजार मानिसको ज्यान लिएको छ, लाखौँ नागरिकलाई विस्थापन गरेको छ र करिब दुई करोड ५० लाख सुडानी नागरिकलाई तीव्र भोकमरीको जोखिममा पुर्याएको छ ।
अल–फासेर अहिले डार्फरको विशाल क्षेत्रमा आरएसएफको नियन्त्रणबाट अझै पनि स्वतन्त्र रहेको अन्तिम राज्य राजधानी बनेको छ । आरएसएफ पश्चिम सुडानमा आफ्नो शक्ति सुदृढ गर्न प्रयत्नशील रहेकाले यो क्षेत्र अहिले युद्धको नयाँ रणनीतिक मोर्चा बनेको छ । अहिले यो सहर आरएसएफद्वारा करिब १८ महिनादेखि घेराबन्दीमा छ ।
यहाँका करिब चार लाख नागरिक अत्यन्त कठिन परिस्थितिमा बाँचेका छन् । खाद्यान्न र आवश्यक वस्तुको आपूर्ति पूर्णरूपमा बन्द छ । स्थानीय बासिन्दाका अनुसार पशुखाद्य समेत सकिँदै गएको छ र अहिले एक झोलामा अन्न किन्न सयौँ अमेरिकी डलर खर्च गर्नुपर्ने अवस्था आएको छ । भोजनको अभावका कारण अधिकांश सूप भान्सा पनि बन्द हुँदा भोक र रोगको सङ्कट अझ गहिरो बनाएको छ ।
मानवअधिकार कार्यकर्ताले अन्तर्राष्ट्रिय समुदाय र मानवीय संस्थालाई तुरुन्तै राहत तथा उद्धारको पहुँच सुनिश्चित गर्न आग्रह गरेका छन् । अन्यथा अल-फासेरमा व्यापक नागरिक संहार हुने खतरा बढ्दै गएको उनीहरूको चेतावनी छ । रासस/एएफपी