पेशावर (पाकिस्तान), असोज २५ गते । पाकिस्तानको उत्तरपश्चिमी सहर डेरा इस्माइल खानस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा शुक्रबार राति भएको आतङ्कवादी आक्रमणमा कम्तीमा सात प्रहरी अधिकारीको मृत्यु भएको र १३ जना घाइते भएको पाकिस्तानी अधिकारीहरूले शनिबार जनाएका छन् ।
आक्रमणमा संलग्न छ जना आतङ्कवादी पनि मारिएका छन् । यो घटनालाई पछिल्ला वर्षमा सो क्षेत्रमा बढ्दै गएको आतङ्कवादी हिंसाको अर्को उदाहरणका रूपमा हेरिएको छ । सशस्त्र समूहको सक्रियता बढ्दै गएपछि पाकिस्तान अहिले बिग्रँदो सुरक्षा अवस्थासँग सङ्घर्ष गरिरहेको छ ।
डेरा इस्माइल खान सहरको बाहिरी क्षेत्र रट्टा कुलाचीस्थित प्रहरी प्रशिक्षण केन्द्रमा एक आत्मघाती बमवर्षकले विस्फोटक पदार्थले भरिएको ट्रक गेटमा ठोक्काउँदा ठूलो विस्फोट भएको थियो । त्यसपछि अन्य आक्रमणकारीले भारी हतियारसहित परिसरभित्र प्रवेश गर्ने प्रयास गरेको प्रहरीका वरिष्ठ अधिकारी सज्जाद अहमदले बताउनुभयो ।
“प्रारम्भिक विस्फोटपछि आक्रमणकारीले प्रशिक्षण केन्द्रमा आक्रमण गर्न सफल भए, त्यति बेला करिब दुई सय भर्ती र तिनका प्रशिक्षक भित्रै थिए”, अहमदले भन्नुभयो । उहाँका अनुसार प्रहरी र आतङ्कवादीबिच करिब छ घण्टासम्म तीव्र गोली हानाहान भएको थियो । उक्त भिडन्तमा सात प्रहरी कर्मचारीको मृत्यु भएको र १३ जना घाइते भएको पुष्टि गरिएको छ ।
प्रहरीको विज्ञप्तिअनुसार आक्रमण अत्यन्त योजनाबद्ध र समन्वितरूपमा गरिएको थियो । ड्युटीमा रहेका अधिकारीले तत्काल प्रतिकारात्मक कारबाही गर्दै आक्रमणकारीलाई नियन्त्रणमा लिन प्रयास गरेका थिए । विज्ञप्तिमा भनिएको छ, “विस्फोटक पदार्थले भरिएको ट्रक प्रशिक्षण विद्यालयको मुख्य गेटमा ठोक्किँदा ठुलो विस्फोट भयो, जसले पर्खालको केही भाग भत्कायो र एक प्रहरी अधिकारीले घटनास्थलमै ज्यान गुमाए ।”
विस्फोटपछि वर्दीधारी आतङ्कवादीले परिसरमा प्रवेश गरी स्वचालित हतियारले अन्धाधुन्ध गोली चलाएका र ग्रेनेडसमेत फ्याँकेका थिए । पछि प्रहरी र अर्धसैनिक बलले संयुक्त रूपमा आक्रमणकारीलाई नियन्त्रणमा लिँदै परिसर खाली गरेका थिए । भिडन्तमा छ जना आतङ्कवादी मारिएका र उनीहरूबाट आत्मघाती भेस्ट, विस्फोटक पदार्थ, हतियार तथा गोला–बारुद बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पाकिस्तानी गृहमन्त्री मोहसिन नकवीले मारिएका प्रहरी अधिकारीको अदम्य साहस र बलिदानको प्रशंसा गर्दै ‘उनीहरूको वीरता देशको सुरक्षा र स्थायित्वका लागि अमूल्य योगदान हो’ भन्नुभयो । प्रतिबन्धित आतङ्कवादी सङ्गठन तेहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी)ले सुरुमा आक्रमणको जिम्मेवारी लिएको थियो, तर केही समयपछि दोस्रो विज्ञप्ति जारी गर्दै संलग्नता अस्वीकार गरेको थियो ।
यो समूह अफगानिस्तानमा सन् २०२१ मा सत्ता कब्जा गर्ने तालिबानसँग वैचारिकरूपमा सम्बन्धित भए पनि पृथकरूपमा सञ्चालनमा रहेको बताइन्छ । पाकिस्तानी सेनाका प्रमुख प्रवक्ता अहमद सरिफ चौधरीले पत्रकार सम्मेलनमा भन्नुभयो, “विशेष गरी अफगानिस्तान सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तमा सन् २०२१ देखि आतङ्कवादी गतिविधि उल्लेख्यरूपमा बढेको छ ।” उहाँले हालको बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्न पाकिस्तानले पछिल्ला वर्षमा हजारौँ आतङ्कवाद विरोधी अपरेसन सञ्चालन गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष सेप्टेम्बर १५ सम्म देशभर १० हजारभन्दा बढी अपरेसन सञ्चालन गरिएका छन् । ती मध्ये ९७० जना आतङ्कवादी मारिएका छन् भने ३११ जना सैनिक र ७३ जना प्रहरी अधिकारीको ज्यान गएको छ । रासस/एपी