दसैँको छेकामा हरेक वर्ष भक्तपुरमा मनाइने दुई उत्सव विशेष उल्लेख्य छन् । एउटा हो, नेपालभाषा साहित्य त मुंज्या र अर्को खमेँ जात्रा । नेपाल भाषामा ‘त मुंज्या’ को अर्थ बृहत् सम्मेलन हो । खमेँ जात्रा जन्ड राँगोलाई दौडाएर मनाइने उत्सव हो । यी दुई उत्सव उल्लेख्य किन पनि छन् भने यिनले रैथाने मात्र नभई देशभरि र विदेशका पर्यटकलाई समेत आकर्षित गर्छन् तर यिनका चरित्रमा आनका तान फरक छ ।
त मुंज्या
नाम जस्तै यो उत्सव कुनै राजनीतिक सभा जस्तै विशाल हुन्छ । नेपाल र भारतमा हुने अधिकांश साहित्य उत्सवमा सहभागी भएको अनुभवले मलाई के लाग्छ भने यो उत्सव प्रस्तुति र उद्देश्य दुवै दृष्टिले अरूभन्दा पृथक् छ । भारतको अति महत्वाकाङ्क्षी जयपुर लिटेरेचर फेस्टिभलदेखि नेपालमा हुने अधिकांश ठुला साहित्य उत्सव ‘कला बजारका लागि’ भन्ने उद्देश्यबाट प्रेरित देखिन्छन् । कुनै कुनै त धार्मिक अतिवादबाट समेत प्रेरित छन् । अढाई वर्षअघि विराटनगरमा भएको नेपाल–भारत साहित्य उत्सवमा अधिकांश कवि यस्ता थिए जो कविताका नाममा भजन सुनाउँथे, अन्तरापिच्छे ‘हरहर महादेव’ भन्थे र सबैभन्दा बढी ताली पाउँथे । झापा रिडर्सले काँकडभित्तामा गर्ने कला साहित्य उत्सव र राजस्थान प्रगतिशील लेखक सङ्घले भारतको जयपुरमा गर्ने समानान्तर साहित्य उत्सव यीभन्दा किञ्चित भिन्न, ‘कला समाजका लागि’ भन्ने उद्देश्यले प्रेरित थिए । ती दुवै अहिले स्थगित छन् । यता त मुंज्याको कुरा भने प्रस्ट छ । ऊ हाकाहाकी भन्छ, “यो सम्मेलन साहित्य र सांस्कृतिक कार्यक्रममार्फत कामदार वर्गबिच उन्नत व्यवस्था, उन्नत जीवन र उन्नत संस्कृतिका लागि जागरण ल्याउने अभियान हो ।”
यो उत्सव हरेक वर्ष दसैँको टीकाको दुई दिनपछि नेपाल संवत् कौलाथ्व द्वादशी र त्रयोदशीका दिन मनाइन्छ । यहाँ मूलतः दुई प्रकारका वक्ता हुन्छन्, आमन्त्रित विशिष्ट पाहुना र स्थानीय प्रतियोगी लेखक । आमन्त्रित वक्ताले आफूलाई थाहा भएको कुरा जनताले बुझ्ने गरी सरल भाषामा बताउँछन् र स्रष्टाले आफ्ना सिर्जना सुनाउँछन् । प्रतियोगी लेखकले स्थानीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय समस्या, गुनासा, आलोचना, प्रतिरोध, हस्तक्षेपकारी विचार आफ्ना सिर्जनामार्फत प्रस्तुत गर्छन् । यहाँ नेताहरूले बोल्दै नबोल्ने होइन । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा जनताले लिनुपर्ने अडानबारे केही नेताले आफ्ना कुरा अवश्य राख्छन् तर दुई दिनका अधिकांश समय ती तल दर्शकदीर्घामा बसेर लेखक र विशेषज्ञका कुरा सुन्छन् । उल्लेख्य के छ भने हरेक वर्ष यहाँ रैथाने जैविक बुद्धिजीवीलाई सम्मान गरिन्छ जसको योगदान सांस्कृतिक क्षेत्रमा अनुपम हुन्छ । दुवै दिन राति अबेरसम्म गीत, सङ्गीत, नृत्य, नाटक, प्रहसनलगायत भव्य सांस्कृतिक सम्मेलन हुन्छ ।
यसपालिको ४५ औँ त मुंज्या भक्तपुर नगरपालिका–२ स्थित नःपुखुमा गरिएको थियो । रैथाने ज्येष्ठ नागरिक जगतलाल खर्बुजाले उद्घाटन गरेको सम्मेलनमा रैथाने अग्रज किसान कार्यकर्ता विकुनाराण माता, लोककवि सङ्घरत्न शाक्य, कनाक बाजा गुरु जगतलाल खर्बुजा तथा गायक तथा सङ्गीतकार रवि हाडालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । कवि चन्द्रबहादुर उलकका दुई कवितासङ्ग्रह त्यहीँ लोकार्पण गरियो ।
खमेँ जात्रा
यता खमेँ जात्रामा हरेक वर्ष नौरथाको महानवमीका दिन भक्तपुर नगरको पूर्वी भेगस्थित नवदुर्गा द्यछेँ (देवघर) बाट सुन्तला रङको सिन्दूर दलिएको, टन्न रक्सी खुवाइएको हृष्टपुष्ट राँगो दौडाइन्छ । राँगोलाई मान्छेको भिडले नवदुर्गा घरबाट लखेट्दै, दौडाउँदै साकोलन, दत्तात्रेय, च्यामसिंह क्षेत्र हुँदै ब्राह्मायणी पु¥याउँछ । खमेँ (जन्ड राँगो) लाई महिषासुर राक्षसका रूपमा लिइन्छ । ब्राह्मायणी नदीमा खमँेलाई स्नान गराई नवदुर्गा देवगणद्वारा विशेष तान्त्रिक पूजा गरिन्छ । त्यसपछि खमेँको श्वास नली पत्ता लगाएर मध्यरातमा वध गरिन्छ ।
नवदुर्गालाई चढाइने राँगो निक्खुर कालो, चिल्लो, सिङ, कान र शरीरका कुनै पनि भागमा खत नभएको, शरीरमा सात चक्र भएको र पुच्छर घुँडाभन्दा तलसम्म आउने हुनु पर्छ भन्ने मान्यता छ । यो खमेँ प्रत्येक वर्ष श्रावण शुक्ल चतुर्दशी अर्थात् गठमुग चह्रेदेखि नागपञ्चमीसम्ममा नवदुर्गा द्यछेँमा भित्र्याइसक्नुपर्ने हुन्छ । गठमुगको दिन द्यछेँको दक्षिण पूर्वी कोठामा एउटा किलामा डोरी बाँधिन्छ । खमेँ ल्याएपछि त्यही किलामा बाँधिन्छ । त्यसपछि महानवमीका दिनसम्म यसलाई हरेक दिन नुहाई, तेल घसी र जाँडलगायत उसलाई मनपर्ने आहार दिई यत्नपूर्वक पालनपोषण गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाबाट नवरात्रि सुरु हुन्छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार क्रमशः ब्रह्मायणी, महेश्वरी, कौमारी, भद्रकाली, वाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी हुँदै नवमीको दिन त्रिपुरासुन्दरी देवीको मन्दिरमा मेला लाग्छ । यसै दिन साँझ नवदुर्गा द्यछेँमा राखिएको खमेँलाई जाँडरक्सी खुवाई, जिउभरि फुस्रो सिन्दूर दली अनि विधिवत् पूजा गरी बाहिर निकालिन्छ । लामो डोरी अर्थात् ब्रह्मपासले बाँधेको खमेँ तान्नेदेखि यो दृश्य हेर्नेहरू द्यछेँ अगाडि धेरै सङ्ख्यामा भेला हुन्छन् । गछेँ, साकोलन, दत्तात्रय, तचपाल, सूर्यमढी, च्यामसिंह, देगइना गणेश हुँदै खमेँलाई ब्रह्मायणी पिठ पु¥याउने क्रममा ती मार्गमा वरपर मान्छेको अपार भिड हुन्छ । खमेँको अगाडिबाट डोरी तान्ने, पछाडिबाट घचेट्नेहरू पनि उत्तिकै हुन्छन् । सिङ, टाउको, जिउ, पुच्छर समाउनेको तँछाडमछाड चल्छ । गछेबाट साकोलन पुगेपछि त्यहाँ राखिएको लामो ढुङ्गामा खमेँको खुट्टा ठोकिन्छ भन्ने कथन छ । साकोलन, तचपालबाट सूर्यमढी पुगेपछि खमेँको गति बढ्छ । सूर्यमढीबाट च्यामसिंहसम्म ओरालोमा खमेँ अनियन्त्रित भएर दौडन्छ । यता ब्रह्मायणी पिठ जाने सानो पुलबाट नभई खोला तारेर लैजाने चलन छ । यसको अर्थ ब्रह्मायणी पिठमा जान खमेँलाई शुद्ध स्नान गराउने भन्ने हो ।
ब्रह्मायणी पिठको पूर्वमा ढुङ्गाका सात खम्बामध्ये सबैभन्दा अगाडिको खम्बामा खमेँ बाँधिन्छ । यता याछेँ टोलबाट सम्पूर्ण नवदुर्गा गणको मुकुन्डो ब्रह्मायणी पिठ पुगेपछि मध्यरातमा नवदुर्गासँग सम्बन्धित आचाजूले विधिवत् रूपमा मांसाहुति यज्ञ गर्छन् । मांसाहुति यज्ञका क्रममा खमेँको वध अन्तिम कार्य हो । वध कार्य तलेजुका खड्गीले गर्छन् । यस क्रममा स्याचुपी (सानो तर तिखो चुपी) ले खमेँको घाँटीमा प्वाल पारिन्छ । विस्तारै आधा घाँटी रेटी मूल नसा पत्तो लगाएर रगतको खोलो बगाइन्छ । रगतले ब्रह्मायणी देवीलगायत नवदुर्गा गणलाई तृप्त पारेपछि एउटा माटोको भाँडोमा रगत जम्मा गरिन्छ । यसलाई भैल कोंचा भनिन्छ । टाउको छुट्याइसकेपछि यसलाई मांसाहुति यज्ञअगाडि राखी यज्ञ सम्पन्न गरिन्छ । उता टाउको छुट्टिएको जिउबाट छाला काढिन्छ । जिउबाट सम्पूर्ण छाला हटाइसकेपछि मासु भाग लगाइन्छ । नवदुर्गासँग सम्बन्धित रकमीहरूलाई मासु भाग लगाई बाँकी मासु भोलिपल्ट प्रसादका रूपमा दर्शनार्थीलाई वितरण गरिन्छ ।
खमेँको वध महिषासुर वधसँग सम्बन्धित छ । नवमीका दिन त्रिपुरासुन्दरी देवीले महिषासुरको वध गरेको कथन छ । महिषासुरले देवीबाट बच्न राँगोमा प्रवेश गरेका थिए रे । देवीले पत्तो पाएर महिषासुरलाई लेखेट्दै ब्रह्मायणीमा वध गरेको भन्ने कथा छ । यसकै सम्झनास्वरूप हरेक वर्ष महानवमीका दिन स्वस्थ खमेँलाई सिङमा ब्रह्मपासले बाँधेर नवदुर्गा मन्दिरबाट ब्रह्मायणीसम्म पु¥याउने र त्यहाँ नवदुर्गा गणले महिषासुरको प्रतीक ठानी खमेँको वध गर्ने चलन चलेको मानिन्छ ।
आलोचनात्मक दृष्टि
त मुंज्या जनजागरण र सांस्कृतिक प्रशिक्षणको सानदार मञ्च हो । वक्ताले बोल्ने र श्रोताले सुन्ने यसको चरित्रलाई श्रोताले पनि सवाल–जवाफ गरी अन्तर्क्रियात्मक बनाउन सके यो मञ्चको गरिमा अझै उँचो हुन्छ ।
यता खमेँ जात्रामा सामयिक सुधार अनिवार्य छ । संस्कृति र संस्कारहरू पुरानो समयलाई कति स्थितिमा जस्ताको तस्तै र कति अर्थमा प्रतीकात्मक रूपमा जीवित राख्ने माध्यम हुन् । स्वरूपमा ती अन्धविश्वासी पनि हुन सक्छन् । सारमा तिनले मानव सभ्यतालाई अग्रगामी र प्रगतिको मार्गमा डो¥याउँछन् । संस्कृति मानव सभ्यतालाई सुन्दर, सभ्य, मानवीय र करुणामय बनाउन सहयोगी हुनु जरुरी छ । यी मान्यताको विरोधी देखिने हदसम्म हाम्रा परम्परामा अग्रगामी सुधार अनिवार्य छ । चाँगुपत्रका पत्रकार खोजक हरिले पोस्ट गरेको एउटा भिडियोमा भिडले खेद्दै ल्याएको राँगो एउटा चोकमा भक्लक्क ढल्छ । उनैले राखेको अर्को भिडियोमा ब्रह्मायणी नदीमा राँगोलाई नुहाउने क्रममा भिडले गरेको अत्याचार देखिन्छ । अझ वधका क्रममा राँगाको आधा घाँटी रेटी मूल नसा पत्तो लगाएर रगतको खोलो बगाउने दृश्यको बर्बरता कस्तो होला ?
पशुवध खारेज हुनु पर्छ भन्ने हदसम्मको जिद्दी म गर्दिनँ । यस्तो भन्दा मान्छेको खाद्य अधिकार हनन भएको आवाज उठ्छ । गोप्य र सुरक्षित स्थलमा यथासक्य कम यातना दिएर पशुवध गर्ने प्रथालाई मात्र छुट दिने व्यवस्था हुनु जरुरी छ । मन्दिर र देवस्थल हाम्रा स्थापत्यका गौरवमय नमुना र अमूल्य सम्पदा हुन् । मानिस त्यहाँ शान्ति प्राप्त गर्न र सौन्दर्यबोध गर्न पुग्छन् । खासमा देवस्थलमा होस् वा अन्य ठाउँमा पशुबलिलाई संस्कृतिको अङ्ग बनाउने र त्यसलाई गौरवमय मान्ने प्रथाको अन्त्य हुनु जरुरी छ । त्यसले मात्र हाम्रो संस्कृतिलाई सुन्दर र मनोहर बनाउँछ । खमेँ जात्रामा मात्र होइन, गडीमाईको मेलालगायत यस्तो चरित्रका अन्य पर्वमा पनि सामयिक सुधार अनिवार्य छ ।