गोरखापत्र समाचारदाता
ललितपुर, असोज २५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यापक राष्ट्रिय सहमति गरेर निर्वाचनमा जानु नै वर्तमान सङ्कटपूर्ण अवस्थाको संवैधानिक निकास भएको बताउनुभएको छ ।
जेनजीले सुशासन र भ्रष्टाचारमुक्त समाजका लागि प्रदर्शन गरेको सविस्तारसहित उहाँले भन्नुभयो, “अब जेनजी पुस्तासहित व्यापक राष्ट्रिय सहमति गरेर निर्वाचनमा जानुको कुनै विकल्प छैन, यो मात्र संवैधानिक समाधान हो ।’”
जेनजीको आन्दोलनपछि गत महिना गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरी तयारी अघि बढिरहेको सन्दर्भमा संयोजक प्रचण्डले निर्वाचनको सफलतामै मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भविष्य सुनिश्चित रहेको स्पष्ट पार्नुभयो । हालै पार्टीको केन्द्रीय संरचना भङ्गपछि महाधिवेशन तयारी समितिको संयोजकका रूपमा शुक्रबार सम्पादकसँगको संवाद कार्यक्रममा उहाँले विकसित राजनीतिक घटनाक्रमको विस्तृत समीक्षा गरेर विगतका कमीकमजोरी भए स्वीकार गर्न र त्यसलाई सच्याउन आफू र पार्टी तयार रहेको बताउनुभयो ।
कमीकमजोरीको समीक्षा गर्नका निम्ति सम्पादकहरूसँग संवादमा बसेको स्पष्ट गर्दै संयोजक प्रचण्डले आगामी दिनमा आफू राजनीतिक भूमिकाबाट बाहिर नरहने तर आसन्न पार्टी महाधिवेशनपछि अध्यक्ष नै भइरहनु पर्छ भन्ने सोचमा भने नरहेको बताउनुभयो । संवादका क्रममा सहभागी अधिकांश सम्पादकले मुख्य पार्टीका शीर्ष नेतृत्वले अब बिदा लिने समय आएको सुझाव दिएका थिए । उहाँले भदौ २४ गते आफू सिंहदरबारभित्रै रहेको र त्यसपछि पनि नेपाली सेनाको सम्पर्कमा रही सङ्कटको निकास दिन राष्ट्रपतिसँग निरन्तर संवादमा रहेको दाबी गर्नुभयो । उहाँले अन्तरिम सरकार निर्वाचन गरी मुलुकलाई सङ्कटबाट मुक्त गर्न बनेको बताउनुभयो ।
अब विगतको गम्भीर समीक्षा गरी ताजा जनादेशपछि संविधान संशोधन गरी नयाँ मार्गचित्रबाट लोकतन्त्रको भविष्य सुनिश्चिन गर्नुपर्ने बताउनुभयो । संविधान बनेको १० वर्षमा समीक्षा गरी संशोधन गर्ने सहमति उतिबेला पनि भएको उहाँले स्मरण गर्नुभयो । तीन दलका शीर्ष नेतृत्व सबै उस्तै भन्ने जनसाधारणमा भाष्य बनेकाप्रति चित्त दुखाउँदै आफूले प्रधानमन्त्री र विपक्षी दलको नेतृत्व गर्दा धेरै काम गरेको सविस्तारसहित आफ्नो बचाउ गर्नुभयो । दलाल र बिचौलियाका जगजगी चिर्न खोज्दा आफूलाई सरकारबाट विस्थापित गरिएको दाबीसमेत उहाँको थियो ।