• २५ असोज २०८२, शनिबार

कोदो टिप्न चटारो

blog

बाजुरा समाचारदाता

बाजुरा, असोज २५ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–६, पाँडीका महिलालाई अहिले कोदो टिप्न चटारो परेको छ । असारमा लगाएको कोदो अहिले पाकेपछि यहाँका महिलालाई अहिले त्यो टिप्न चटारो परेको हो ।

पाडीवासीले कोदो कतै बिक्री नहुने भएकाले पहिला उनीहरूले आफूलाई खान मात्र कोदो खेती गर्ने गरेका थिए । अहिले यहाँको कोदोको देशका विभिन्न सहरमा माग बढ्दै गएपछि यहाँका किसानले कोदो खेती बढाउँदै लगेका हुन् । अहिले भने यहाँका स्थानीयले एक परिवारले झन्डै पाँचदेखि आठ क्विन्टल कोदो उत्पादन गर्ने गरेका छन् ।

कृषि ज्ञान केन्द्र बाजुराले यसको महत्वबारे किसानलाई जानकारी गरेसँगै यहाँका स्थानीय तहले सरकारी कार्यालयमा कोदोको परिकारको खाजा अनिवार्य गरेपछि पाडीवासी पनि कोदो खेतीतर्फ आकर्षित भएका छन् । “पहिला बाटो थिएन । गाउँमा बिक्री हुँदैनथ्यो । आफूलाई खान मात्र कोदो खेती गर्ने गरेका थियौं  । अहिले चारै ठाउँबाट कोदोको माग आउन थालेपछि कोदो खेती गर्न थालेका छौँ,” हिमाली गाउँपालिका–६, पाँडाकी जमुना बोहोराले बताउनुभयो । पाँडीमा झन्डै १४० परिवार बसोबास गर्ने गर्छन् । पछिल्लो समय उनीहरू सबै कोदो खेती गर्छन् । यहाँका स्थानीयले पछिल्लो समय झन्डै एक हजार १६० क्विन्टल कोदो उत्पादन हुन्छ । अन्य ठाउँको कोदोभन्दा यहाँको कोदो स्वास्थ्यका लागि निकै उत्तम मानिएको छ ।