टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी) असोज २५ गते । नेपाली कांग्रेस गुल्मीका ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४६ जनाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् । गत भदौ २३ र २४ जेनजी विद्रोहपछि नेपाली राजनीतिमा आएको असामान्य परिस्थितिको सामना गर्न कांग्रेसमा विशेष महाधिवेशनको बहस सुरु भएको थियो ।
नेपाली कांग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधि तथा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले नियमित महाधिवेशनको वातावरण तयार गर्दै अवस्था सकारात्मक नभए केन्द्रीय समिति भङ्ग गरेर विशेष महाधिवेशनसम्म अवस्थामा आफुहरु अगाडि बढेको बताउनुभयो । कांग्रेस मात्र नभएर गैरकांग्रेसको समेत भावनालाई बुझेर अहिलेको निर्णय गरिएको खत्रीले बताउनुभयो ।
नेपाली कांग्रेस गुल्मीका सहसचीव धर्म पाण्डेयका अनुसार गुल्मी जिल्लाबाट प्रतिनिधित्व गर्ने ५३ मध्ये गुल्मी क्षेत्र नं १ का २३ र २ का २३ जनाले हस्ताक्षर गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूले सभापति, केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सम्बोधन गरेर विशेष महाधिवेशनको माग गर्दै ध्यानाकर्षण पत्र र हस्ताक्षर जिल्ला सभापति मार्फत केन्द्रमा पठाएको पाण्डेयले बताउनुभयो ।
ध्यानाकर्षण पत्रमा जेनजी आन्दोलनका क्रममा उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न, आन्दोलनका ध्वंसात्मक घटनाको छानबिन गर्न र संविधान तथा लोकतन्त्र जोगाउने जिम्मेवारी नेपाली कांग्रेसकै काँधमा आएकाले विशेष महाधिवेशनको माग गरिएको उल्लेख छ । वर्तमान अवस्थामा दलहरूको मौजुदा नेतृत्वबाट देशको बदलिँदो भावनालाई सम्बोधन गर्न सकिने अवस्था नभएकोले नेपाली कांग्रेसले पार्टीभित्र नीति, नेतृत्व र संरचनामा समयसापेक्ष सुधार गर्न विशेष महाधिवेशनमार्फत निर्णायक छलफल गर्नुपर्ने आवश्यकता देखिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।