• ३१ असोज २०८२, शुक्रबार

जग्गाको कागज जलेपछि स्रेस्ता कायम गर्दै मालपोत

blog

शालिग्राम नेपाल 

चितवन, असोज २५ गते  । मालपोत कार्यालय चितवनले जिल्लाका जग्गाधनीको प्रमाणपत्रको स्रेस्ता कायम सुरु गरेको छ ।  जेनजी आन्दोलनकारीले कार्यालयमा गरेको आगजनीका कारण सबै कागजात जलेर नष्ट भएपछि मालपोतले जिल्लाका जग्गाधनी प्रमाणपत्रको नयाँ से्रस्ता कायम गर्न लागेको हो । सरकारले आगजनी गरिएका जिल्लास्थित मालपोत कार्यालयलाई आफूमातहतका जग्गाधनी प्रमाणपत्रको नयाँ स्रेस्ता कायम गर्न भनेको छ । 

सोहीबमोजिम मालपोत कार्यालय

चितवनले जिल्लाका सात वटै पालिकालाई जग्गाधनीको नयाँ स्रेस्ताका लागि सिफारिस प्रदान गर्न पत्राचार गरेको थियो । 

मालपोत कार्यालयका नायब सुब्बा कृष्ण पौडेलले नयाँ स्रेस्ता कायम गर्ने काम सुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काम सुरु भएको छ । ठाउँको अभावका कारण सहज रूपमा काम गर्न पाएका छैनौँ । सुरुवाती चरणमा समस्या भएका र अति आवश्यक परेका व्यक्तिको काम गर्ने छौँ ।” धितो पास नगरेकै कारण विदेश जान नपाउने, बैङ्किङ समस्यामा परेका, दृष्टिबन्धक फुकुवालगायतका समस्यामा परेकाको स्रेस्ता कायम गरी धितो पास गर्ने काम तत्कालका लागि गरिने छ । नापी कार्यालयमा काम सुरु नभएका कारण मालपोतले आवश्यकताका आधारमा स्रेस्ता कायम गरी धितो पास गर्ने काम गरिने उहाँले जानकारी दिनुभयो । 

नासु पौडेलले जग्गाधनीले स्रेस्ता कायम गरेको शुल्क तिर्नुपर्ने बताउनुभयो । पौडेलले भन्नुभयो, “एउटा मिसिलको एक हजार शुल्क लाग्ने प्रावधान थियो । हामीले त्यो शुल्क नलिने भएका छौँ तर पालिकाले सिफारिस दिँदा शुल्क लिने वा नलिने उनीहरूको निर्णयको कुरा हो ।” 

मालपोत कार्यालय चितवनका प्रमुख रमेशप्रसाद गौतमले कार्यालयमा भएका सबै कागजपत्र जलेर नष्ट भएपछि जग्गाधनीलाई नै आफ्नो बलियो प्रमाण पेस गरेर स्रेस्ता कायम गर्न भनिएको बताउनुभयो । जग्गाधनी प्रमाण पुर्जा, नक्सा, सरजमिन मुचुल्का, कर तिरेको रसिदलगायतको कागजपत्र पेस गरेर स्रेस्ता कायम गर्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो । कार्यालयमा २०७८ सालपछिका कागजपत्र डिजिटल प्रणालीमा रहेको छ । त्योभन्दा अगाडिको डिजिटल छैन । कार्यालयसँग नभएको काजगपत्रको बलियो आधार जग्गाधनीले ल्याउनुपर्ने अवस्था सिर्जना भएको कार्यालय प्रमुख गौतमले बताउनुभयो । 

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले जग्गाधनी प्रमाणपत्रको नयाँ स्रेस्ताका लागि वडा कार्यालयले प्रदान गर्ने सिफारिस दस्तुर नलिने जनाएको छ । मालपोतको पत्र अनुसार रत्न नगर नगरपालिकाले जग्गाधनी प्रमाणपत्रको नयाँ स्रेस्ता बनाउन आग्रह गर्दै वडाबाट प्रदान गरिने सिफारिस निःशुल्क गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिनुभयो । नयाँ स्रेस्ताका लागि प्रदान गरिने सिफारिसमा शुल्क नलिन १६ वटै वडा कार्यालयलाई पत्राचार गरिएको उहाँले बताउनुभयो । 

मालपोत कार्यालय चितवनले रत्ननगर नगरपालिकालाई गरेको पत्राचारमा नष्ट भएका जग्गाधनी दर्ता स्रेस्ता तयार गर्न जग्गाधनी स्वयम् उपस्थित भई भूमि प्रशासन निर्देशिका, २०८१ को दफा २१ अनुसार देहायको कागज प्रमाणसहित निवेदन पेस गर्नुपर्ने छ, भनिएको छ । 

भदौ २३ र २४ गते जेनजी आन्दोलनका व्रmममा भरतपुरस्थित मालपोत कार्यालयका सबै कागजात जलेर नष्ट भएका छन् । प्रमाण नष्ट भएसँगै अब त्यसलाई ‘रिस्टोर गर्ने’

प्रयोजनका लागि जग्गाधनीको नाममा जग्गाको रजिस्ट्रेसन प्रव्रिmया पूरा भएर सरकारी अभिलेख (स्रेस्ता किताब) मा आधिकारिक रूपमा नाम लेखिएको अवस्था हो ।

मालपोत कार्यालय चितवनले जग्गाधनीले नयाँ स्रेस्ता कायम गर्न १० प्रकारका प्रमाण पेस गर्नुपर्ने हुन्छ । नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गा रहेको स्थानीय तहबाट भएको भोगसम्बन्धी र सम्बन्धित जग्गाधनी यकिन गर्ने स्थायी ठेगाना भएको स्थानीय तहको तीन पुस्ते फोटो टाँससहितको सिफारिस, जग्गाधनीसँग भएको सक्कल पुर्जा, जग्गा प्राप्तिको स्रोतमा लिखितबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति, प्लट रजिस्ट्रर, फिल्डबुक, नक्सा पेस गर्नुपर्ने छ । 

जग्गाधनीले चालु आवको मालपोत बुझाएको रसिद, जग्गा रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति, आवश्यकता अनुसार स्थलगत सर्जमिन, आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना, गुठी जग्गाको हकमा गुठी संस्थानको सहमतिपत्र चाहिने कार्यालयले जनाएको छ ।

यति धेरै कागजपत्र सङ्कलन गर्न ज्यादै कठिन हुने भएकाले यस विषयमा कार्यालयले पुनर्विचार गर्नुपर्ने नेपाल पत्रकार महासङ्घ चितवनका पूर्वअध्यक्ष जनक अर्यालले बताउनुभयो । १० प्रकारका कागज पेस गर्न जटिल हुन्छ । सर्वसाधारणलाई यो प्रव्रिmयाका विषयमा जानकारीसमेत छैन, उहाँले भन्नुभयो । यस्तो अवस्थामा कसरी काम हुन्छ । विदेशमा भएका व्यक्ति छन् । सहज तरिकाले काम गर्ने वातावरण सिर्जना गर्न उहाँले अनुरोध गर्नुभएको छ ।