पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, असोज २५ गते । नेपाल नेत्र ज्योति संघ डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीले जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीमा कार्यरत ११८ जना प्रहरी कर्मचारीहरूको आँखा परीक्षण गरेको छ । प्रहरी कर्मचारीहरूको आँखा स्वास्थ्यलाई मध्यनजर गर्दै आयोजित यस शिविरबाट प्रहरीहरू लाभान्वित भएका छन् ।
अस्पतालको प्राविधिक तथा विशेषज्ञ टोलीले शिविरमा प्रहरी उपरीक्षक अनुपम श्रेष्ठसहित कुल ११८ जना प्रहरी कर्मचारीहरूको आँखा परीक्षण गरेको थियो । यसका साथै, दृष्टिमा समस्या देखिएका ७८ जना प्रहरीहरूलाई निःशुल्क चश्मासमेत वितरण गरिएको अस्पतालले जनाएको छ । परीक्षण गरिएका सबै कर्मचारीहरूलाई निःशुल्क औषधी वितरण गरिएको थियो ।
देशको सुरक्षामा दिनरात खटिने प्रहरी कर्मचारीहरूलाई सेवा दिन पाउँदा अस्पताल परिवारले खुसी व्यक्त गरेको छ । यस प्रकारका शिविरहरूले कार्यस्थलमा खटिने कर्मचारीहरूको स्वास्थ्यप्रति सचेतना जगाउनुका साथै उनीहरूको दैनिक काममा थप सहजता ल्याउने विश्वास गरिएको छ ।