नेपालगन्ज समाचारदाता
नेपालगन्ज, असोज २५ गते । बाँकेलगायत पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिलाले शुक्रबार करवाचौथ पर्व मनाएका छन् ।
तराईमा बसोबास गर्ने विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै करवाचौथ पर्व मनाएको नेपालगन्ज–१८ की अगुवा महिला लक्ष्मी मिश्रले बताउनुभयो । उहाँका अनुसार महिलाले दिनभरि निराहार उपवास बसेर राति चन्द्रमा उदाएपछि चन्द्रमाको पूजाअर्चना र दर्शनपछि पतिको पूजाअर्चना तथा दर्शन गरेर पतिकै हातबाट जल ग्रहण गर्दै यस पर्वलाई समापन गरे ।
नेपालगन्जका अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले शुक्रबार बिहानैदेखि निराहार, निर्जल व्रत बसेर राति चन्द्रमा उदाएपछि पहिला चन्द्रमा दर्शन र पूजा गरेर पछि पुनः पतिको पूजा गर्दै व्रतालु महिलाले पतिको हातबाट सबैभन्दा पहिले जल ग्रहण गरेको बताउनुभयो । उहाँका अनुसार यस पर्वमा चन्द्रमाको पूजा गरिने तथा चन्द्रमाकै रूपमा आआफ्ना पतिलाई पनि पूजा गर्ने र चन्द्रमासँग आफ्ना पतिको चन्द्रमा जस्तै दीर्घायुको कामना गर्ने गरिन्छ ।
यस पर्वमा महिलाहरू राति रङ्गीचङ्गी नयाँ नयाँ वस्त्र, चुरा, पोते, विभिन्न गरगहनासहित शृङ्गार गरी दुलही जस्तै बनेर चन्द्रमा उदाएपछि चल्नी (गहुँको पिठो चाल्ने वस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चल्नीको जालीबाट चन्द्रमा दर्शन गर्दछन् । चन्द्रमाको दर्शन गरेपछि पुनः सोही चल्नीमा चन्द्रमाको ठाउँमा आआफ्ना पतिलाई उभ्याएर पतिको दर्शन गर्छन् । घरको आँगनमा वा भित्तामा गौरी गणेश भगवान्को चित्र कोरेर टोलभरिका महिला एक ठाउँमा जम्मा भएर पूजापाठ गर्ने गरिन्छ । करवाचौथको दिन पकाइने विशेष पकवान नयाँ चामलको पिठोले बनाएको फाराको पनि पूजा गरिन्छ । पूजापाठपश्चात् कथा सुनाउने चलन पनि रहेको छ ।