भैरहवा समाचारदाता
भैरहवा, असोज २५ गते । करिब छ महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट पुनः नियमित उडान सुरु हुने भएको छ । थाई एयर एसियाले यही असोज २६ (अक्टोबर १२) देखि भैरहवा–थाइल्यान्डबिच अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको हो ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर एसियालाई सातामा दुई वटा उडानका लागि अनुमति दिइसकिएको छ । “थाई एयर एसियाले असोज २६ देखि साताको दुई उडान गर्ने गरी अनुमति लिएको छ,” तिवारीले भन्नुभयो, “जजिरा एयरवेजलगायत अन्य कम्पनी पनि तयारी चरणमा छन् । जजिराले तिहारपछि उडान सुरु गर्ने योजना बनाएको छ ।”
गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा भैरहवाबाट चार वटा विदेशी विमान कम्पनीले अस्थायी रूपमा उडान सञ्चालन गरेका थिए ।
सो समयमा एक महिनासम्म सातामा २० वटासम्म उडान भइरहेका थिए तर त्यसयता नियमित उडान बन्द भएका कारण अहिले केही चार्टर उडान मात्र भएका छन् ।
२०७९ जेठ २ गते २५६६ औँ बुद्धजयन्तीका अवसरमा औपचारिक उद्घाटन भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रारम्भिक चरणमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाइ एयर एसिया र हिमालय एयरलाइन्सले व्यावसायिक उडान गरेका थिए ।
नियमित उडान निरन्तर नहुँदा भैरहवा र आसपासका होटेल तथा पर्यटन व्यवसायी प्रभावित बनेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र आचार्यका अनुसार विमानस्थल सञ्चालन हुने आशामा निजी क्षेत्रले करिब एक खर्ब रुपियाँ बराबरको लगानी गरेको थियो । उडान ठप्प भएपछि धेरै व्यवसायी ऋणको किस्ता र ब्याज तिर्न नसकी सङ्कटमा परेका छन् । आचार्यले भन्नुभयो, “केही व्यवसायीले तारे होटेल बिक्री गरिसकेका छन् भने कतिपय निर्माणाधीन होटेल बिचमै रोकिएका छन् ।”