• ३१ असोज २०८२, शुक्रबार

बिपी राजमार्गमा अस्थायी ट्र्याक खोलियो

blog

एक सातादेखि बाढीपहिरोका कारण अवरुद्ध रहेको बिपी राजमार्गको माम्तीपुलमा सडकको ट्र्याक खुलाइँदै । तस्बिर : ई. दुर्गाप्रसाद

केदार तिमल्सिना 

बनेपा, असोज २५ गते । बाढीपहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको बिपी राजमार्गमा भएको अवरोध हटाई अस्थायी ट्र्याक खुलाइएको छ । बाढीपहिरोका कारण अवरुद्ध भएका सबै स्थानमा अस्थायी डाइभर्सन र पहिरो हटाई ट्र्याक खोलेर शुक्रबार दिउँसोदेखि बिपी राजमार्ग खुलाइएको हो । 

सडकको ट्र्याक खुलेसँगै अब यातायात सञ्चालन हुन सक्ने छ । सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले बाढीपहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको बिपी राजमार्गमा अस्थायी सडक ट्र्याक खोल्ने काम सकिएसँगै राजमार्ग पुनः सञ्चालन भएको बताउनुभयो । उहाँँले बाढीपहिरोका कारण बिपी राजमार्गको दाप्चा (एक नम्बर) पुलदेखि काभ्रेपलाञ्चोकको क्षेत्रभित्र पर्ने बर्खेखोलासम्मको बाढीले क्षति गरेको स्थानमा अस्थायी डाइभर्सन र सडकमा रहेको पहिरो हटाइएसँगै शुक्रबार दिउँसो ४ बजेबाट ट्र्याक खुलेको बताउनुभयो । 

“शुक्रबार दिउँसो ४ बजेबाट बिपी राजमार्गको सबै अवरोध हटाएर ट्र्याक खुलाउने काम सकिएको छ, ट्र्याक खुलेको स्थानमा अवस्था अनुसार साँघुरो स्थानमा सडक चौडा गर्ने, सडकको उचाइ बढाउने र सडकको सतह सुधार गर्ने काम निरन्तर रूपमा अघि बढाइने छ,” सिडिई योगेशले भन्नुभयो । सडक डिभिजन भक्तपुर, राजमार्ग पुनर्निर्माणको ठेक्का पाएको निर्माण व्यवसायीका दुई दर्जन उपकरण प्रयोग गरेर रातदिन काम गरेर सडकको ट्र्याक खोल्ने काम गरिएको हो । 

बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्गमा तत्कालका लागि ट्र्याक खोल्ने काम सकिए पनि कतिपय स्थानमा सडक चौडा गर्नुपर्ने, सडकको उचाइ बढाउनुपर्ने र सडकको सतह मिलाउनुपर्ने भएकाले उक्त ट्र्याकमा तत्कालका लागि सहज रूपमा यातायात सञ्चालन हुन भने कठिनाइ देखिएको छ । सडक डिभिजनले ट्र्याक बनाइएको स्थानमा मर्मतको काम पनि निरन्तर गरेर सहज रूपमा यातायात सञ्चालन गरिने जनाएको छ । 

असोज १७ र १८ गतेको वर्षासँगै आएको बाढीपहिरोका कारण बिपी राजमार्गको दाप्चा एक नम्बर पुलदेखि बर्खेखोलासम्मको चार किलोमिटर सडकमा क्षति पुगेको थियो । बाढीपहिरोबाट माम्तीमा चार सय मिटर, माथिल्लो माम्तीमा २३५ मिटर, तल्लो पिप्लेमा २२० मिटर, माथिल्लो पिप्लेमा २२० मिटर, सुक्खा पहिरोमा ३६२ मिटर, डालाबेँसीमा पाँच सय मिटर, कालढुङ्गामा ४१० मिटर, बोक्सीकुनामा दुई सय मिटर सडक क्षति भएको डिभिजन कार्यालयले जनाएको छ । 

यस्तै चिउरीबासमा १२० मिटर, नार्केमा ५० मिटर, गिम्दीबेँसीमा ५० मिटर, चार सय बेँसीमा तीन सय मिटर, चार सय बेँसी घुमाउनेमा ८० मिटर, कटुन्जे घुमाउनेमा तीन सय मिटर, चौकीडाँडामा ३७५ मिटर र दाप्चा पुलमा २० मिटर गरी कुल ३.८४२ किलोमिटर सडकमा क्षति पुगेको सडक डिभिजन भक्तपुरले जनाएको छ । गत वर्ष असोज दोस्रो साताको बाढीपहिरोबाट दाप्चापुलदेखि बर्खेखोलासम्मको २९ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो । गत वर्ष बाढीपहिरोबाट पूर्ण रूपमा क्षति गरेको बिपी राजमार्गको डालाबेँसीदेखि चार सय बेँसीसम्मको पुनर्निर्माणका लागि खानी/एवान/कमलजित जेभी र चार सय बेँसीदेखि भकुन्डेबेँसीसम्म लामा/नवकान्तिपुर जेभीले ठेक्का पाएको छ । ठेक्का लागिसकेको यी दुई स्थानको सडकको ट्र्याक खोल्ने काम सम्बन्धित निर्माण व्यवसायीबाट गराइएको छ भने जाइकाले गर्ने भनेको राजमार्गको बर्खेखोलादेखि पिप्लेसम्मको सडक र पिप्ले (सुक्खापहिरो) देखि डालाबेँसीसम्मको सडकको सडक डिभिजनले नै बनाएको हो । पिप्लेदेखि डालाबेँसीसम्मको सडकको ठेक्का मूल्याङ्कनको काम भइरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार क्षतिग्रस्त बिपी राजमार्गको स्थलगत अनुगमन गरी क्षतिको जानकारी लिई यथाशक्य छिटो सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो ।

सङ्घीय सडक सुपरिपेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षासँगैको बाढीपहिरोबाट क्षतिग्रस्त खण्डमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राजमार्गको काभे्र र सिन्धुलीको विभिन्न १६ ठाउँमा क्षति पुगेको करिब ४१० किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्र्फी रूपमा सञ्चालन गरिएको छ । सो राजमार्ग आइतबारदेखि दुईतर्फी सञ्चालन हुने छ ।” क्षति पुगेको सडक सोमबारदेखि मर्मत सुरु गरिएको थियो ।