• २४ असोज २०८२, शुक्रबार

जापानमा विदेशी बासिन्दाको सङ्ख्या करिब ४० लाख पुग्यो

blog

टोकियो, असोज २४ गते । जापानमा बसोबास गर्ने विदेशी नागरिकको सङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । देशमा श्रम शक्ति अभावका कारण पछिल्ला वर्षमा विदेशी कामदारलाई ठूलो सङ्ख्यामा स्वीकार गरिँदै आएको छ । 

सरकारी तथ्याङ्क अनुसार सन् २०२५ को जुन महिनाको अन्त्यसम्म जापानमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने विदेशी बासिन्दाको सङ्ख्या ३९ लाख ५६ हजार पुगेको हो । अध्यागमन सेवा एजेन्सीले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो सङ्ख्या सन् २०२४ को अन्त्यको तुलनामा करिब पाँच प्रतिशत अर्थात् एक लाख ८७ हजारले वृद्धि भएको हो ।

हाल जापानको कुल जनसङ्ख्याको तीन दशमलव २१ प्रतिशत हिस्सा विदेशी बासिन्दाले ओगटेका छन्, जुन अघिल्ला वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । आवासीय स्थितिको आधारमा हेर्दा स्थायी बासिन्दाको सङ्ख्या एक दशमलव पाँच प्रतिशतले बढ्दै नौ लाख ३२ हजार ९० पुगेको छ, जसले सबैभन्दा ठूलो समूह प्रतिनिधित्व गर्छ । 

त्यसपछि दोभाषे र अन्य पेशागत कामदारसमेत समावेश इन्जिनियर, मानविकी तथा अन्तर्राष्ट्रिय सेवाका विशेषज्ञको भिसा कोटीमा रहेका व्यक्तिको सङ्ख्या नौ दशमलव चार प्रतिशतले बढेर चार लाख ५८ हजार १०९ पुगेको छ । अध्यागमन एजेन्सीका अनुसार हालको वृद्धिदर निरन्तर रहँदा सन् २०२५ को अन्त्यसम्म जापानमा विदेशी बासिन्दाको सङ्ख्या करिब ४१ लाख ५० हजार पुग्ने अपेक्षा गरिएको छ ।

यसै अवधिमा सन् २०२५ को पहिलो अर्ध वार्षिकमा जापानमा प्रवेश गर्ने विदेशी आगन्तुकको सङ्ख्या समेत तीव्ररूपमा बढ्दै दुई करोड १३ लाख मिलियन पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो । एजेन्सीको अनुमानअनुसार यस वर्षभर जापान प्रवेश गर्ने विदेशीको कुल सङ्ख्या करिब चार करोड ५० लाख पुग्ने सम्भावना रहेको छ । रासस/सिन्ह्वा