काठमाडौँ, असोज २४ गते। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा विशेष अधिवेशनको विषयमा छलफल भएको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकमा विशेष अधिवेशनको विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।
उहाँका अनुसार बैठकमा अधिवेशन तथा विशेष अधिवेशनबारे हस्ताक्षर भएर आएका कुरा र अहिले एकताबद्ध भएर जानुको विकल्प नरहेको विषयमा जोड दिइएको छ।
उहाँले भन्नुभयो, “यो विशेष अधिवेशन भनेर हस्ताक्षर भएर आएका कुराहरु सुनिएको छ, यसले पार्टीमा कस्ता खालका समस्याहरु पैदा गर्छ।अहिले एकताबद्ध भएर जानुको विकल्प छैन।संकटको घडीमा सम्पुर्ण मतभेदहरु पुरेर पार्टीलाई एकताबद्ध गर्ने कुरामा सम्पुर्ण साथीको जोड थियो ।”
यस विषयमा पार्टी नेतृत्वले बुद्धिमतापूर्ण तरिकाले दृष्टिकोण निर्माण गर्ने र यो विषय केन्द्रीय समितिको बैठकमा लैजाने उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, “बुद्धिमतापूर्ण तरिकाबाट नेतृत्वले दृष्टिकोण बनाउनुपर्छ र त्यो दृष्टिकोण केन्द्रीय समितिमार्फत जनता र पार्टी पङ्तिबिचमा लिएर जानुपर्छ भन्ने नै कुरा भयो ।” बैठकमा उठेका विषय केन्द्रीय समितिको बैठकमा निश्कर्ष निकालिने उहाँको भनाइ छ।
उहाँले पार्टीको पदाधिकारी बैठक शनिबार बिहान ११ बजे पुनः बस्ने जानकारी दिनुभयो।उहाँका अनुसार कांग्रेस केन्द्रीय समितिको बैठक असोज २६ गते आइतबार बस्दैछ।