किएभ, असोज २४ गते । युक्रेनको राजधानी किएभ शुक्रबार बिहान रुसको तीव्र हवाई आक्रमणपछि अन्धकारमा डुबेको छ । उक्त आक्रमणका कारण सहरको पानी र ऊर्जाको आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको युक्रेनी वायु सेनाले जनाएको छ ।
सेनाले यस आक्रमणलाई ‘ठूलो हमला’ भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । क्रेमलिनले हालका हप्तामा युक्रेनका ऊर्जा पूर्वाधार र रेल प्रणालीलाई निरन्तर निशाना बनाइरहेको छ, जसले अघिल्ला तीन जाडोयाममा भएका समान आक्रमणको पुनरावृत्ति झल्काएको छ । ती अभियानले युक्रेनी नागरिकलाई चिसो मौसममा तताउने साधनविहीन बनाएको थियो ।
शुक्रबार बिहान किएभमा एएफपीका पत्रकारले शक्तिशाली विस्फोटको आवाज सुने र सहरका विभिन्न क्षेत्रमा व्यापकरूपमा बिजुली कटौती भएको पुष्टि गरे । “राजधानी अहिले शत्रुको ब्यालेस्टिक मिसाइल र आक्रमणकारी ड्रोनको ठूलो हमलाको अधीनमा छ”, वायु सेनाले विज्ञप्तिमा उल्लेख गर्दै जनतालाई तत्काल आश्रय लिन आग्रह गरेको छ ।
किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार रुसी सेनाले ‘महत्वपूर्ण पूर्वाधार’ मा लक्षित गरेको छ । प्रारम्भिक रिपोर्टअनुसार कम्तीमा नौ जना घाइते भएका छन्, जसमा पाँच जनालाई अस्पताल भर्ना गरिएको छ । “राजधानीको लेफ्ट बैंक बिजुलीविहीन भएको छ, पानी आपूर्तिमा पनि समस्या आएको छ”, उहाँले टेलिग्राममार्फत जानकारी दिनुभयो ।
युक्रेनी ऊर्जामन्त्री स्विटलाना ग्रिन्चुकले पनि आक्रमणलाई ‘ग्रिडमाथि गरिएको ठूलो हमला’ भन्दै ऊर्जा क्षेत्रका प्राविधिक नकारात्मक प्रभाव घटाउन निरन्तर प्रयासरत रहेको बताउनुभयो । उहाँका अनुसार सुरक्षा अवस्थाले अनुमति दिए लगत्तै, क्षतिको मूल्याङ्कन र मर्मत कार्य सुरु गरिने छ । रुसले हाइपरसोनिक ‘किन्जाल’ मिसाइल प्रयोग गर्न सक्ने चेतावनी दिएकाले युक्रेनले शुक्रबार देशव्यापी सतर्कता जारी गरेको छ ।
उक्त मिसाइल पत्ता लगाउन र रोक्न अत्यन्त कठिन मानिन्छ । दक्षिणपूर्वी जापोरिझिया क्षेत्रमा पनि रुसले सात रात लगातार ड्रोन आक्रमण गरेको बताइएको छ । यस आक्रमणमा सात वर्षीय बालकको मृत्यु र कम्तीमा तीन जना घाइते भएको स्थानीय प्रशासनका प्रमुख इभान फेडोरोभले जानकारी दिनुभयो ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार मस्कोले ऊर्जा पूर्वाधार र रेल सञ्जालमाथि आक्रमण गरी ‘अराजकता सिर्जना गर्न र मनोवैज्ञानिक दबाब दिन खोजिरहेको’ आरोप लगाउनुभयो । उहाँका अनुसार यस्ता आक्रमणले युक्रेनको ग्यास आपूर्ति प्रणालीमा दबाब बढाएको छ र थप क्षतिको अवस्थामा देशलाई आयातमा निर्भर बनाउने सम्भावना बढेको छ ।
युक्रेनले पनि हालका महिनामा रुसभित्रका ऊर्जा र सैन्य लक्ष्यमा ड्रोन र मिसाइल आक्रमण बढाएको छ । जेलेन्स्कीका अनुसार यस्ता प्रतिआक्रमणले ‘परिणाम देखाउन थालेका छन्’ र रुसमा इन्धनको मूल्य बढ्न थालेको छ । यसैबिच रुसको सीमा नजिक बेलगोरोडमा रहेको पावर स्टेशनमा युक्रेनी आक्रमणपछि बिजुली सेवा अवरुद्ध भएको बताइएको छ ।
रुसले युक्रेनमाथि फ्रन्टलाइन नजिकै रहेको अमोनिया पाइपलाइन फुटाएर विषाक्त ग्यास फ्याँकेको आरोप लगाएको छ । उक्त घटनाको भिडियोमा जमिनबाट रासायनिक धुवाँ निस्किरहेको देखिन्छ तर युक्रेनी अधिकारीले त्यसले स्थानीय जनजीवनमा कुनै खतरा नपरेको बताएका छन् । लगातारका ड्रोन आक्रमणका कारण युक्रेनी सरकारले पूर्वी डोनेट्स्क क्षेत्रको क्रामटोरस्क सहरबाट बालबालिका र अभिभावकहरूलाई निकासी गर्न आदेश दिएको छ ।
त्यस्तै, नजिकैको स्लोभियान्स्कका मेयरले पनि ऊर्जा पूर्वाधारमाथि भइरहेका निरन्तर आक्रमणका कारण बालबालिका र वृद्धलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्नु भएको छ । युक्रेनी अधिकारीका अनुसार रुसले हाल साना, सस्ता र पहिलो-व्यक्ति-दृश्य ड्रोन व्यापक रूपमा प्रयोग गर्न थालेको छ, जसले युद्धको स्वरूपलाई तीव्र गतिमा परिवर्तन गरेको छ ।
प्रधानमन्त्री युलिया स्विरिडेन्कोको नेतृत्वमा युक्रेनी प्रतिनिधिमण्डल आगामी हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने तयारीमा रहेको छ । भ्रमणमा ऊर्जा, हवाई सुरक्षा र रूसी आक्रमणका विरुद्ध सहयोगबारे छलफल हुने अपेक्षा गरिएको छ । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र नेटो सहयोगीले युक्रेनमा युद्ध अन्त्यका लागि ‘दबाब बढाइरहेको’ बताउनुभयो ।
यद्यपि उहाँले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने प्रयास गरे पनि अहिलेसम्म युद्धविराममा सहमति हासिल हुन सकेको छैन । ट्रम्पले गत अगस्टमा अलास्कामा पुटिनलाई स्वागत गर्नु भएको थियो । त्यसपछि युक्रेनमा रुसी आक्रमण अझ तीव्र भएको थियो । रुसले यस हप्ताको सुरुमा ‘शान्ति सम्झौताको प्रक्रिया ठप्प भएको’ बताएको छ । रासस/एएफपी