गोरखापत्र अनलाइन
काठमाडौं, असोज २४ गते । गृहसचिव रामेश्वर दंगालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपाललाई उच्च तयारीका साथ लाग्न निर्देशन दिनुभएको छ।
गृहसचिव दंगालले शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हल्चोकको निरीक्षण भ्रमण गर्दै सुरक्षा संयन्त्रको कार्यशैली र तयारीबारे जानकारी लिनु भएको हो। उहाँले आगामी निर्वाचन पूर्व र पश्चातका सुरक्षा चुनौतीका दृष्टिले अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “निर्वाचन सुरक्षाका लागि समयमै योजना बनाई जनशक्ति तथा स्रोतसाधनको अधिकतम उपयोग गर्नुपर्छ। सीमित स्रोतका बाबजुद दक्ष जनशक्ति र उपकरणको सदुपयोग गर्न सकियो भने निर्वाचन कार्य शान्तिपूर्ण र व्यवस्थित ढङ्गले सम्पन्न गर्न सकिन्छ।”
गृहसचिव दंगालले सशस्त्र प्रहरी बलको भूमिका विभिन्न आन्दोलन, विपद् व्यवस्थापन, सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण र विश्वासिलो रहेको उल्लेख गर्दै आगामी निर्वाचनका सन्दर्भमा त्यसलाई अझ सुदृढ बनाउन मन्त्रालय सकारात्मक रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
निरीक्षणका क्रममा उहाँले जेन्जी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। साथै, सशस्त्र प्रहरी बललाई जनउत्तरदायी, अनुशासित र समयअनुकूल कार्यशैलीमा रूपान्तरण गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनले जनअपेक्षा अनुरूप सेवा र सुरक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी निर्वाचन शान्तिपूर्ण,स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले आन्दोलन व्यवस्थापनका लागि विशेष इकाइको स्थापना, दंगा नियन्त्रण उपकरण, वाटर क्यानन र बख्तरबन्द सवारी साधनको व्यवस्थापन, साथै सीमा क्षेत्रमा थप बोर्डर आउटपोष्ट स्थापना गर्न मन्त्रालयको सहयोग आवश्यक रहेको जानकारी दिनुभयो।
सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, निरीक्षणका क्रममा गृहसचिव दंगालले विपद् उद्धारका सामग्रीहरूको अवलोकन गर्नुभयो भने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले संगठनको वर्तमान अवस्था, चुनौती र आगामी योजनाबारे प्रस्तुतीकरण गर्नुभयो।